नेपाल र इजरायल सरकारबीच बीटुबीमा काम गर्ने कुनै सम्झौता भएको छैन : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गरेका छन् ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको दाबी गरे ।
उनले इ सेभेन भिसामार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल समेत अघि नबढाएको बताए । उनले इ सेभन भिषाका विषयमा सरकारको संलग्नता नभएको भन्दै अध्ययनको लागि कार्यदल गठन भएको त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने बताए । उनले कोरियाले इ सेभेन भिसा अन्तर्गत निजी क्षेत्र अर्थात् (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने विषयमा सत्यता नभएको जिकिर गरे ।
उनले नेपालले इ सेभेन भिसा नेपाली कामदार पठाउने विषयमा सरकार जानकार नभएको बताए । उनले रोजगारीका लागि इजरायल बिटुबि मोडलमा पठाउन दिने निर्णय नभएको पनि बताए । उनले उक्त विषयमा निर्णय भएपनि कार्यदलको अध्ययनको विषय भएकाले तत्कालको लागि रोकिएको बताए ।
उनले इजरायल र नेपाल सरकारबीच तथा नेपाल र इजरायलको मेनपावरबीच बिटुबीमा काम गर्नेगरी कुनै सम्झौता नभएको बताए । उनले जापानमा पनि त्यस्तो खालको सम्झौता नभएकाले हल्लाको भरमा यस्तो काम भइरहेको थाहा भए तत्काल कारबाही गर्ने चेतावनी दिए ।
उनले भने ‘दक्षिण कोरियाको इसेभेन भिसा मार्फत कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरा एकदमै भ्रम र मन्त्रालयसँग सम्बन्ध नभएको मन्त्रालयले बनाएका कार्यविधिहरूलाई कार्यदल बनाएर पूर्ण मूल्याङ्कन छलफल र प्रधानमन्त्रीले २०८० पुस २४ गते निर्देशन लिएको बुँदामा पर्छ । कोरियासँग कुनै सम्झौता भएको छैन । कार्यदल बनेकाले यो विषयमा केही विषय अगाडि नबढाउन भनिसकेको विषय भएको हुनाले यो विषयमा केही सम्झौता भएको छैन । काम गर्ने ठाउँ कोरिया भनिएको छ । त्यसमा पनि सत्यता छैन । इसेभेन भिसाको विषयमा कुनैपनि बहस चलेको छैन । यसले इ ९ भनेर इपिएस त्यसलाई कुनैपनि असर गर्दैन । इसेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो । यसमा मन्त्रालयको संलग्नता छैन । यो विषयमा नागरिकलाई बुझाउन आवश्यक छ । जापानको विषयमा पनि सरकारले कुनैपनि निर्णय गरेको छैन । कार्यविधिहरू हेर्दैछौं । जापानमा कामदार पठाउन बिटुबी भनेर लेखिने गरेको छ । त्यसको लागि कुनै मेनपावर छनोट भए पनि सही थियो थिएन भनेर अध्ययन गर्न कार्यदल बनेको हुनाले यसमा पनि सत्यता छैन । इजरायलको विषयमा पनि इजरायलका राजदूतसँग भेट गरेको थिए । उहाँले भेटमा धेरै आचर्य जनक कुरा राख्नुभयो । यसमा पनि कुनै सत्यता छैन । इजरायल र नेपाल सरकारबीच नेपाल र इजरायलको मेनपावरबीच बीटुबीमा काम गर्ने गरी सम्झौता भएको छैन ।’
उनले एक घण्टा भित्रमा श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न आफूले निर्देशन दिएको बताए । मन्त्री अर्यालले आगामी शुक्रवार देखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न गरिने बताए । उनले श्रम स्वीकृतिमा भएको ठूलो भ्रष्टाचार रोक्नको लागि भएपनि वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन लागिएको बताए ।
मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिनसक्ने गरी प्रणाली सुधार गरिने बताए ।








