गृहमन्त्री लामिछानेको प्रतिक्रिया–कांग्रेस दुधले नुहाएको पार्टी होइन (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे ।

उनले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । उनले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिए ।

उनले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए ।

चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने– ‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ । संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ । कुन ढंगले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ । विवादबाट मुक्त कहिल्यै हुँदैन । हामी काम गर्न अघि बढेका छौँ । कामको संकेत देखिरहनुभएको छ । जुन ढंगले संसद अवरोध भएको छ । एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली काँग्रेस दुधले नुहाएको पार्टी हो की होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । काँग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’

उनले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =