रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्छ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरूको चित्त नबुझेको बताए ।

उनले भने ‘हामीले निरन्तर गृहमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीको जवाफ मागिरहेका हौँ । प्रधानमन्त्री सदनमा प्रस्तुत हुनुभयो । आफ्नो कुरा राख्नुभयो । प्रधानमन्त्रीको कुरामा हाम्रो चित्त बुझेन । चित्तबुझ्दो ठाउँपनि पटक्कै भएन ।’

उनले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गरे ।

भने ‘म भन्छु कुनै होइन, पर्याप्त प्रमाण छ ।’

उनले छानबिन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरू बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानबिन समिति गठन गर्नु आवश्यक भएको बताए ।

उनले भने ‘प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदै छ । गलत सूचना प्राप्त हुँदैछ । प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन होला ? प्रधानमन्त्रीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ । यदि सदनभित्र छानबिन समिति गठन गरौँ । प्रमाण छ कि छैन त्यो पनि हेरौँ । यदि सरकारले यी कुरालाई गम्भीरतापूर्वक लिएन, अगाडी बढाएन भने हाउस अवरुद्ध कांग्रेसले गर्दैन सरकार आफैँले सदन अवरुद्ध गरेको मानिनेछ । मेरो माग छ, एउटा छानबिन समिति गठन गरौँ । संसदभित्र छानबिन समिति गठन गरेर दूधको दूध, पानीको पानी निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ । यसमा सरकारलाई आपत्ति छ भने सरकार आफैँ गैरजिम्मेवार र सदनको नियमित कामलाई बाधा पुर्याउने ठहरिनेछ ।’

उनले निष्पक्ष छानबिन गर्नका लागि पनि संसदीय छानबिन समिति आवश्यक रहेको बताए । उनले सरकारले काँग्रेसको मागलाई गम्भीरतापूर्वक नलिएमा सरकार आफैँले संसद अवरोध गरेको मानिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =