कांग्रेसले फेरी माग्यो रवि लामिछानेको राजीनामा

काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।
उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए ।
उनले भने, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’
उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए ।
उनले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताए ।
उनले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गरे ।








