सातौँ निफ : बुलाकीलाई ३ अवार्ड, सुरक्षा र विपिन कार्की बने उत्कृष्ट

काठमाडौँ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छन् । बुलाकीले एक लाख नगद पुरस्कारको उत्कृष्ट फिल्म अवार्ड हात पार्दा अर्को नेपाली फिल्म एक भागवत गीताले उत्कृष्ट छायांकन र उत्कृष्ट अभिनेताको अवार्ड पायो भने उत्कृष्ट पटकथाको अवार्ड डेसानले पाएको छ ।

सुरक्षा पन्त र विपिन कार्की उत्कृष्ट अभिनेत्री तथा अभिनेताको रुपमा पुरस्कृत हुँदा अन्तर्राष्ट्रिय तर्फ गौतम बुद्ध उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड रजनी बासुमात्री निर्देशित भारतीय फिल्म वाइल्ड स्वनले जितेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय तर्फ इभान जोभिक निर्देशित सर्बियन फिल्म लजारुस पाथ उत्कृष्ट फिल्म बन्न सफल भएको छ भने उत्कृष्ट डकुमेन्ट्रिको माउन्ट एभरेस्ट अवार्ड पोर्चुगलको लभ लाइट्सले हात पारेको छ । जि जाओ निर्देशित चाइनिज फिल्म द ट्रेकर, द वल्फ एण्ड द मंकी किङले स्पेशल मेन्सन अवार्ड हात पारेको छ ।

इनुमा राई निर्देशित जर्ना उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रि बन्दा किरण श्रेष्ठ निर्देशित येट अनोदर विन्टरले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड इजिप्टको आइ प्रमिस यु पाराडाजले पाएको छ । जसको निर्देशक मोराद मोस्ताफा रहेका छन् ।

चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमबार सोही ठाउँमा समापन भएको हो । पाँच दिनसम्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएको महोत्सव आनि छोइङ डोल्मामाथी बनेको डकुमेन्ट्री मिसन इम्पोसिबल प्रदर्शन गरेर सुरुवात भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *