गृहसचिव अर्याल भन्छन्– विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ

काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन् ।

आज नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक काम गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतीहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।

नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भने, ‘समग्र गृह प्रशासनलाई समसामयिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौँ । जनताहरू पनि सन्तुष्ट भएको अवस्था छैन । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढङ्गले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।’

उनले प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्ति विकासमा साङ्गठानिक प्रणालीअन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनका लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्नेमा जोड दिए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोहीअनुरुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =