सार्कलाई क्रियाशील बनाउन पहल गर्ने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनी प्रष्ट पारेका हुन् ।
उनले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारे । उनले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताए । उनले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए ।
उनले भने ‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा बिमस्टेकको रुपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रुपमा लिँदैनौँ । सार्कको महत्त्व आफ्नो ठाउँमा छ । र सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई विमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।’
उनले बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडी बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए ।








