बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले बिमस्टेकमा बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल सदस्य रहेको र सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भुमिका खेल्नुपर्ने बताए । उनले नेपालले बिमस्टेकबाट लिएका फाइदाहरू संसदमा प्रस्तुत गर्न आग्रह गरे ।

उनले भने ‘सन् १९९७ मा स्थापना भएको बिमस्टेक ढिलो गरी अघि बढिरहेको छ । हामी त्यसको बिमस्टेक चार्टड अर्थात् बिमस्टेक वडापत्रलाई आज यहाँ छलफल गरिरहेका छौँ । बंगलादेश, भारत, भुटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल यसका सदस्यहरू हुन् । तर यसबाट नेपालले उठाउन सक्ने जति फाइदा उठाउन सकिरहेको छैन । अहिलेसम्म सदस्य भएदेखि यता नेपालले बिमस्टेकबाट केके फाइदाहरू लियो भन्नेकुरा त्यसको फेहरिस्त पनि बिमस्टेक चार्टडसँगै परराष्ट्र मन्त्रालयले प्रस्तुत गरेको भए संसदलाई राम्रो जानकारी हुनसक्थ्यो । हामीले भविष्यलाई ध्यानमा राखेर आर्थिक, सामाजिक अग्रगति, साझा हित, प्रगति र पारस्परिक सहयोगको प्रवर्द्धन लगायतका विषयमा अझै ठोस उपलब्धि हासिल गर्न यो संस्थाबाट मौका हासिल गर्नसक्छौँ । नेपालको सन्धि ऐनको दफा १० अनुसार नेपाल सरकारले गरेका सबै सन्धिहरू यो संसदमा प्रस्तुत हुनुपर्दथ्यो तर नेपाल सरकारले त्यसरी प्रस्तुत गरेका सन्धिहरू एक महिनामा प्रस्तुत गर्नुपर्नेमा कतिपय सन्धिहरू अहिलेसम्म संसदमा प्रस्तुत भएका छैनन् । त्यो संसदमा प्रस्तुत हुनुपर्छ । बिमस्टेकलाई अघि बढाउँदा के ध्यान राख्नुपर्छ भने सार्कलाई पनि अघि बढाउनुपर्छ । पाकिस्तान बिमस्टेकमा नहुँदा भारतको चाहना सार्क रोकेर बिमस्टेक अघि बढाउनुपर्दथ्यो । हामीले प्रभावकारी भुमिका खेल्नुपर्छ ।’

उनले भविष्यलाई ध्यानमा राखेर बिमस्टैकबाट आर्थिक, सामाजिक अग्रगति, साझा हित, प्रगति र पारस्परिक सहयोगको प्रवर्द्धन लगायतका विषयमा अझै ठोस उपलब्धि हासिल गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =