‘कलाकार नै लोभिने अद्भूत कला छ नेपालमा’

ललितपुर । पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले । चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरे । ‘मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन्’, उनले बताए ।

पाटनस्थित कृष्ण मन्दिर वरिपरि शनिबार ६० भन्दाबढी विदेशी कलाकारले प्रत्यक्ष दृश्य अवलोकन गरेर चित्र कोरेका थिए । इन आर्ट वल्डको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ‘कला शाला’ को दोस्रो दिन विदेशी एवं स्वदेशी कलाकारले एकैसाथ कलाकृति सिर्जना गरेका थिए । कला शालामा मात्रै कलाकारले कला सिर्जना गर्नु मात्रै नभई कलाकारमा एकता विस्तार गर्नु अर्को महत्त्वपूर्ण उद्देश्य रहेको आकार आर्ट सेन्टरकी अध्यक्ष अनिता भट्टराईले बताइन् ।

उनीका अनुसार नेपाली कलामा कलाकार एक मत हुन जरुरी छ । यही सन्दर्भ पारेर कला शालामा चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, प्रिन्टमेकिङलगायत विभिन्न कला एकै ठाउँमा बसेर कलाकारले सिर्जना गरिएको हो । कलाशालामा बङ्गलादेश, भारत, इरान, ताइवान र नेपाल गरी पाँच देशका कलाकारले आआफ्नो शैलीमा कला सिर्जना गरेकी थिइन् ।

पाटनको दरबार क्षेत्रअवलोकन गर्दै चित्र बनाइरहेका ताइवानका चित्रकार डेरियसले यहाँको परम्परागत भौतिक संरचना अत्यन्त रचनात्मक लागेको बताए । आँखीझ्याल ठोकाका बुट्टाले आफूलाई धेरै आकर्षित गरेको उनले सुनाए । ‘एउटा कलाकार नै लोभिने खालको अद्भूत कला छ नेपालमा’, उनले भने, ‘अर्को पटक यिनै कलाको अध्ययन गर्न अलि धेरै समय बस्नेगरी नेपाल घुम्न आउनेछु ।’

बङ्गलादेशका चित्रकार कौशर हुसैनका लागि नेपाल आफ्नै देशजस्तै आत्मीय लाग्ने बताए । धर्मले मुस्लिम समुदायको भए पनि नेपालको धार्मिक कला कौशलले निकै आकर्षित गरेको उनी बताउछन् । पाटनको कृष्ण मन्दिर चित्रमा उतार्दै उनले सम्झनास्वरुप आफ्नो देश लैजाने सुनाए । ‘हुन त म मुस्लिम हुँ तर, यो कृष्ण मन्दिरको तस्बिर घरै लगेर राख्नेछु’, उनले भने ।

नेपाली चित्रकार प्रमिला परियारले भने पाटन दरबार क्षेत्रको दृश्य अलि फरक ढङ्गले उतारिन् । उनीको बुझाइमा कलाकारले जे देख्छ, त्यही उतार्नु वास्तविक कला होइन । त्यो भइरहेको दृश्यमा मौलिकता थप्न सक्नु कला रहेको उनीले बताइन् ।

आइतबारसम्म चल्ने ‘कलाशाला’ मा कलाकारले पशुपति मन्दिर वरिपरिको दृश्यसमेत चित्रमा उतार्ने छन् । यसरी सिर्जना भएका कलालाई आयोजकले प्रदर्शन गरी बिक्री गर्नेछ । बिक्री भएबापतको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमित बालबालिकाको संस्था ‘बेबी लाइफ होम’लाई सहयोग गरिने आयोजक भट्टराईले बताइन् । कलाको व्यापारमा प्रोत्साहन दिन नेपाल जर्मन चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले व्यापारी नै उदार भएर कलाको संरक्षण गर्नुपर्ने बताए । ‘कार्यशालामा कलाकारले बनाएका चित्र सकेसम्म बिक्री गराउने हेतु छ’, उनले भन्छन्, ‘व्यापारीले नै कलालाई माया नगरे कला र कलाकार सङ्कटमा पर्छन् ।’

त्यस्तै, अर्का कला प्रेमी एवं साहित्यकार निर्मल थापाले नेपाली कलाको बजार विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको सहकार्य हुन जरुरी रहेको सुनाए । उनका अनुसार कलाको विश्वव्यापीकरणले पर्यटनसमेत आकर्षण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *