पोखरा विमानस्थलबाट व्यावसायिक उडानका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै यस्तो बताएका हुन् । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प गरे ।

उनले भने ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवाहरूबाट व्यावसायिक उडानहरूको लागि संवद्ध पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । अब यसमा अन्तर्राष्ट्रिय उडान नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र यसको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प मैले लिएको जानकारी गराउन चाहन्छु ।

उनले पोखराको सांस्कृतिक र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताए । उनले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

भने ‘अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानुनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशवासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पु¥याउने विश्वास दिलाउन चाहन्छु ।

उनले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्याउन पहल गर्ने बताए । पोखराको पर्यटन प्रवर्द्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अलम्वन गर्ने बारेमा पनि सचेत रहेको बताए ।

‘फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्याउन पहल गरिनेछ । पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अवलम्बन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु ।’

प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात् राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानुनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जबाफदेही तथा क्षमता विकासलाई योजनाबद्ध रूपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गरे । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रुपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने बताए ।

उनले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताए । पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानी कर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले सहजीकरणको निम्ति आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।

आगामी महिनामा आयोजना हुन लागेको लगानी सम्मेलनले समेत पोखराको पर्यटन विकासमा योगदान पुर्याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =