अन्तर्राष्ट्रिय उडानको माग गर्दै पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्रीलाई बुझायो पत्र

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । पोखरा जोडने मुख्य सडकहरूको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ ।

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को सङ्कटको सामना गर्नुपरेको उल्लेख छ । अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी सङ्कटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ ।

पर्यटन बोर्डको पुनः संरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहित प्याकेज दिई प्रोत्साहनको माग गरिएको छ ।

गत वर्ष नवौँ राष्ट्रिय प्रतियोगिताका क्रममा दुर्घटना भई एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङको एकल उडान बन्द गरेको थियो । उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न नपाउँदा खेलाडीको मनोविज्ञानमा असर परेको परिषद्ले मागपत्रमा जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =