लगानी कर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्नुस् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । ‘हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैनाैँ । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ । नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो,’ अर्थमन्त्री पुनले भने, ‘आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन । मैले म भन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरूलाई निरन्तरता दिनुपर्छ ।’

उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । ‘आजको चुनौतीलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर हुँदैन । कोषका साथीहरूले आफैँ जबाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानीनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ । परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरूका राम्रा काम नीतिहरूलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘म दिन्छु, प्रतिबद्धता छ । अहिले आर्थिक रूपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरूमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरू, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरूको पैसा नडुबोस्, विज्ञ साथीहरूले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । उनले भने, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धीकरण जरुरी छ, हामी आफैँले ठानेका छाैँ । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धीकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =