‘गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?’– काँग्रेस सांसद पन्त

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएकी छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग सञ्चालनमा ल्याउन आफैँले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छ ? भनी प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरिन् ।

प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो । उनले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने बताइन् । सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पुँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन् ‘प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा । प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो । बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्यूलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु । यो गण्डकी प्रदेशकै गौरव हो–गोरखकाली रवर उद्योग । अहिले त्यो सञ्चालनमा छैन । त्यसलाई सञ्चालन गर्छु भनेर प्रतिबद्धता जनाएर आउनुभएका प्रधानमन्त्रीले कहिलेदेखि सुरु गर्नु हुन्छ ? म जवाफ खोज्न चाहन्छु ।’

सांसद पन्तले विकास, निर्माणको काममा ढिलाइ गर्ने छुट सरकारलाई नभएको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =