माओवादीको ओरालो यात्रा कहिलेसम्म रहन्छ ?

काठमाडौं । नेपाली राजनीतिमा अहिले ३२ सिटेको निकै चर्चा छ । संसद्मा ३२ सिट भएको पार्टी हो माओवादी केन्द्र ।
संसदीय राजनीतिक ३२ सिटे माओवादीकै वरिपरि नै घुमिरहेको टिप्पणी हुने गरेको छ । अहिलेको ३२ सिटे माओवादी कुनै बेला संसद्मा पहिलो पार्टी थियो । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा माओवादी झण्डै बहुमतसहित पहिलो दल बनेको थियो । पहिलो दल बन्दा माओवादीले सरकार बनाउन एमालेसँग गठबन्धन गरेको थियो । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनेका थिए । उनी २०६६ जेठ ११ सम्म पदमा रहे ।
प्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणमा उनले सरकार छोडेका थिए । पहिलो संविधान सभाले संविधान बनाउन सकेन । २०७० को निर्वाचनमा माओवादी केन्द्रले अघिल्लो जितको एक चौथाई जित्न पनि सकेन । २०७० सालमा भएको निर्वाचनमा माओवादी तेस्रोमा खुम्चियो । माओवादी तेस्रोमा खुम्चिए पनि प्रचण्डको सत्तायात्रा रोकिएन । संविधान बनेपछि २०७३ साउन २० देखि ०७४ जेठ २४ सम्म उनी दोस्रोपटक प्रधानमन्त्री भए ।
दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादीले ०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जितेर संसदीय राजनीतिमा उदाएको थियो । तर, ०६४ देखि २०७९ सम्म आइपुग्दा निरन्तर ओरालो यात्रामा छ । २०६४ सालयता चुनावैपिच्छे माओवादीले जनाधार र जनमत गुमाउँदै गएको छ । त्यसपछि माओवादीले संसदीय निर्वाचनमा पार्टीको अस्तित्व बचाउने उपायको रूपमा गठबन्धन गर्दै आएको छ ।
२०७४ मा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेसँग पार्टी एकता गरी होमिएको माओवादी गत आम निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर चुनावमा गएको थियो । परिणामतः माओवादी तेस्रो बन्यो । तर, दोस्रो दलसँग फराकिलो अन्तरका साथ । सिट संख्याका आधारमा चौथो दलसँग नजिकै रहे पनि माओवादीको सत्तायात्रा रोकिएको छैन ।
अहिले पनि ३२ सिटे माओवादीले संसदीय राजनीतिमा रहेको पहिलो र दोस्रोसहित दलहरूलाई वरिपरि घुमाइरहेको छ । अर्को चुनावमा माओवादीको आरोलो यात्रा अझै कायम रहने आँकलन छ । माओवादीको ओरालो यात्रा कहिलेसम्म रहन्छ ? माओवादीकै नेता लेखनाथ न्यौपानेका शब्दमा ‘माओवादीको ओरालो यात्रा फेदीमा नपुगुञ्जेल रोकिँदैन ।’ उनकै शब्दमा ‘माओवादीको ओरालो यात्रा रोक्न वैचारिक निकास छ, न त व्यावहारिक कोसिस भएको छ । ओरालो यात्रा तीव्र गतिमा जारी छ ।’








