एमाले र माओवादी पुँजीवादी सरकारमा जानु हुँदैन थियो : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जानु नहुने बताएका छन् ।
संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भएपनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताए ।
‘नेपाली काँग्रेसले सामन्त र पुँजीपति वर्गको सेवा गर्दछ । कम्युनिष्टहरुले मजदुर किसानहरूको वकिल भएर काम गर्नुपर्ने हो’ उनले भने ‘एमाले र माओवादी आफूलाई कम्युनिष्ट भन्छन् तर मजदुर किसानको लागि वकिल भएर काम गरेको देखिँदैन । एमाले र माओवादी साँच्चै कम्युनिष्ट हुन् भने यो पुँजीवादी सरकारमा जानु नहुने हो ।’
उनले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताए ।
सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भएपनि कम्युनिष्टहरको सिद्धान्तमा नहिँडेको बताए ।








