प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिनुस् : ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको प्रस्ताव चित्तबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरूले मिलेर पारित गर्नु उपयुक्त हुने उनले जिकिर गरेका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गरेको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए ।
ओलीले भने ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्यो भन्ने कारण । र अब उहाँ के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरू सविस्तार बताउनु भयो । र कुराहरू, कारणहरू चित्तबुझ्दो छ । म समर्थनबाटै सुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रस्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’
ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए ।








