प्रविधिमा महिलाको पहुँच पुगेको छैन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन् ।
मंगलवार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाए पनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन् । उनले अहिले पनि विभिन्न वडा सदस्यहरूसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरूसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन् । उनले राज्यले हरेक वडा सदस्यहरूलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन् ।
मोबाइलको प्रयोगले उनीहरूको क्षमता विकास हुने उनको भनाइ थियो । उनले निर्भिक भएर कलम चलाउने पत्रकारहरूको सुरक्षाका लागि सांसदहरूले बहस गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन् ‘हाम्रा कयौँ पत्रकार साथीहरूलाई मारिएको छ । उहाँहरुले एउटा साहस लिएर बेथिति, भ्रष्टाचारको विरोधमा ती कुराहरू लिन जाँदा उहाँहरू ज्यान जोखिममा राखेर अघि बढ्नुभएको छ । यो प्रजातन्त्र जुन हाम्रो देशमा आयो, त्यसमा पनि पत्रकार साथीहरूले विचारको क्रान्ति नगरेको भए हामीले त्यो कुनै रगतको खोला बगाउँदैमा यो प्रजातन्त्र आएको होइन । यो कुरा यहाँ मान्यज्युहरुले बुझ्नुपर्छ । उहाँहरूको कति भुमिका छ । म अब पत्रकार त होइन, तर पनि उहाँहरू जस्तो लेख्न म सक्दिन । हामी मिलेर काम गर्नुपर्छ । महिला सांसदहरूलाई जसरी अप्ठ्यारो परेको छ, त्यसरी नै महिला पत्रकारहरूलाई पनि गाह्रो छ । कति जनाले ज्यान गुमाउनु परेको छ, कति जना ह्यारेसमेण्ट हुनुभएको छ । कति जना बलात्कार भएका छन् । हामी पत्रकार साथीहरूको अभिभावक हो नि । निर्भिक भएर कलम चलाउनेहरूको पनि सुरक्षाका लागि हामी अघि बढ्नुपर्छ । हामीले बहस गर्नुपर्छ ।’
उनले पत्रकारहरूको सुरक्षाका लागि पनि बहस गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘हामीले बजेट छुट्याउनुपर्छ राज्यबाट । महिला पत्रकार साथीहरूलाई जुन एउटा कानुनले दिएको छ र पनि त्यो कार्यान्वयन भएको छैन । महिलालाई लगानी गर्ने र सभ्य र समुन्नत समाज थालनी गर्ने भनेको छ, त्यसमा हामी आजैदेखि लाग्नुपर्छ । प्रविधिमा महिलाको पहुँच भनेको छ, कहाँ पुगेको छ पहुँच ? महिलाहरूमा । वडामा एक जना सदस्यको मोबाइल राम्रो छैन । त्यो अवस्थामा छौँ । उहाँहरूको तलब १० हजार हो । मैले त्यो १० हजार त पार्ट टाइम काम गर्ने दिदिलाई दिएको छु । त्यो अवस्था छ । खै त पहुँच पुगेको ? वडा सदस्यलाई एउटा मात्रै मोबाइल राज्यले दिने हो भने पनि उहाँहरूको क्षमता वृद्धि हुन्थ्यो ।’
उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्चितता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन् ।








