राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
मङ्गलवार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढुंगानाको भनाई थियो ।
उनले भने ‘मैले उहाँलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेको छु । उहाँ लामोसमयदेखि सङ्घर्ष गरेको व्यक्ति हुनुहुन्छ । उहाँले आफनो जीवनको विद्यार्थी कालदेखि नै २०२४ सालदेखि उहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभयो । अनवरत अहिलेसम्म सङ्घर्षरत नै हुनुहुन्छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने बेलासम्म उहाँले यो राजनीतिक परिस्थितिमा आफूलाई उभ्याई राख्नुभयो । हेरि सक्नुभयो, सङ्घर्ष गरिराख्नु भयो । जसका कारण नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशन चितवनमा भएको थियो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा अध्यक्ष भएको बेला नेविसंघको उपाध्यक्ष भएर पनि काम गर्नु भयो । विभिन्न चरणमा जेल जीवन पनि बिताउनु भयो । तसर्थ, उहाँ २०४५ सालको बाँके जिल्लाको सभापति हुनु भयो । र आज उहाँ राष्ट्रिय सभा अध्यक्षको रुपमा हाम्रा अगाडि मैले उहाँलाई प्रस्ताव गरेको छु । हुन त देशको राजनीतिको बारेमा पनि केही न केही कुरा राख्नुपर्छ जस्तो मलाइ लाग्छ । म यसअघि प्रतिनिधिसभामा धेरैपल्ट आएको हुँ । राष्ट्रिय सभाको अनुभव मलाई थिएन ।’
केहीबेर पछि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








