एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडकका लागि बजेट विनियोजन गर्छौं : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमवार नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले मैदानबाट हाइवेसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने बताए । उनले मैदानका लागि गुणस्तरीय ट्रान्सफर्मर बनाइदिने कुरामा पनि जनप्रतिनिधिहरू मिलेर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जनप्रतिनिधिको काम धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने रहेको बताए ।
उनले भने ‘जनप्रतिनिधिको काम धेरै भाषण गर्ने, चिप्ला कुरा गर्ने काम हाम्रो होइन । सकिन्छ भने काम गर्नु राम्रो र नसके गफ गर्नु राम्रो हुँदैन । मैले विनोद कुँवरजीलाई सोधेँ । केके चाहिएको छ, अघि बढ्नका निम्ति । उहाँले एउटा क्वालिटीको ट्रान्सफर्मर चाहियो भन्नुभयो । मैले त्यसको जिम्मा लिन चाहन्छु । सरकारका तर्फबाट लगानी गर्न मैले अग्रसरता लिनेछु र त्यो ट्रान्सफर्मरको प्रबन्ध गर्न ध्यान दिनेछौँ । रोड एक्सिस राम्रो हुनुपर्छ भन्ने उहाँको माग छ । यहाँबाट सहजै हाइवेमा दर्शक र खेलाडी जानुपर्छ भन्ने छ । फराकिलो बाटोको सन्दर्भमा तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्युहरुसँग छलफल गरेर र सहकार्य गरी खेलमैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौँ ।’
गत ३० जेठमा निर्माणको शिलान्यास भएको रंगशाला आठ महिनापछि मैदानको निर्माण कार्य सम्पन्न भएको हो । ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन् ।








