माओवादी केन्द्रले बजेटको सिद्धान्त र प्राथमिकताबारे सत्तारुढ दलहरूसँग छलफल गर्ने

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने भएको छ ।
शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा सहभागी अन्य दलहरूसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो ।
काँग्रेस नेतृत्वको यस अघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे पेस गरिएको थियो । सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारुढ दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
त्यसैगरी बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ । त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरूलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले बताए । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ । त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।
प्रमुख सचेतक पाण्डेले भने ‘यो बैठकमा मुख्य गरेर अहिलेको समसामयिक राजनीतिक स्थिति के हो ? त्यसका बारे छलफल भयो । सँगसँगै अहिले जो नयाँ सहमति र सहकार्यका साथ अगाडी जाने गरेर सम्माननीय प्रधानमन्त्रीज्युले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । त्यसको मर्म के हो ? र, अब हामी कसरी अगाडी जाने हो ? भन्ने बारेमा नै मुख्य रुपमा आफनो संघीय संसदीय दललाई प्रष्ट पार्ने विषयवस्तु थियो । सम्माननीय प्रधानमन्त्रीज्यूले यो बारेमा स्पष्टताका साथ सबै विषयवस्तुहरू राख्नु भयो । सँगसँगै यो बैठकमा अहिलेसम्म हाम्रो जो भइरहेका कामहरु छन । कार्यतालिकाका साथ यो तेस्रो अधिवेशनमा हामी जान लागेका थियौँ । र, यो तेस्रो अधिवेशनमा नौ वटा बैठक आइरहेका थिए । त्यसमा दुई वटा विधेयक पनि पारित गरिसकेका थियौँ । तर नयाँ परिस्थिति आइसकेपछि कार्यतालिका अनुसार जान सकिएन । त्यसकारणले अव फेरी कार्यतालिका अनुसार कसरी जाने भन्ने विषयवस्तुमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले दललाई प्रष्ट बनाउनु भएको छ ।’
‘यसका साथसाथै अव काम अगाडि बढाउने क्रममा संविधानको व्यवस्था अनुसार नै स्वभावैले विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने विषयवस्तु, त्यहाँ हाम्रो सहकार्यको सबै दलको माननीय सदस्यहरूले र हाम्रो दलका माननीय सदस्यहरूले खेल्नु पर्ने भूमिकाका बारे पनि आज कुरा भएको छ । खास गरेर प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रियसभामा अध्यक्षको निर्वाचन हुँदैछ । उपाध्यक्षसहितको निर्वाचन हुने गरेर एक खालको सहमति पनि भइसकेको छ । यी सबै विषयबस्तुहरुलाई पनि मध्यनजर गर्दै त्यो बेलामा हामो दलका प्रतिनिधिसभाका माननीयहरू विश्वासको मत लिने बेलामा राष्ट्रियसभाका माननीय सदस्यहरू राष्ट्रियसभाको अध्यक्षको, उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित गर्नका लागि ह्वीप जारी गर्नुपर्ने विषयवस्तु छ । त्यो बारे पनि हामीले दलमा छलफल गरेर निर्णय गरेका छौं । त्यसको साथसाथै अहिले फागुन १४ गते आगामी आर्थिक वर्ष १०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत भएको छ । तर त्यसको छलफल सुरु भएको छैन ।’
‘अव त्यो छलफल सुरु गर्नुपर्नेछ । त्यसमा अव कसरी छलफल गर्ने भन्ने विषयवस्तु पनि थियो । त्यसको साथसाथै हाम्रो राष्ट्रियसभाका ६ वर्षे कार्यकाल पूरा गरी बिदाइ हुनु भएको छ । उहाँहरूलाई धन्यवाद ज्ञापनका साथ बिदाइ गर्ने विषयवस्तु पनि थियो । यीनै विषयबस्तुहरुमा हामीले आज छलफल ग¥यौं । र, ठोस निर्णय भएको छ । अव एउटा विषयवस्तु छ अहिले राष्ट्रिय राजनीतिक के हो, दलले निर्वाह गर्नुपर्ने भूमिका के हो ? भन्ने बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले प्रष्ट बनाउनु भयो । अर्को मैले अघि नै भनेजस्तै प्रतिनिधिसभामा पनि, राष्ट्रिय सभामा पनि जुनजुन दिनमा विश्वास मत हुन्छ वा राष्ट्रिय सभामा अध्यक्ष, उपाध्यक्षको निर्वाचन हुन्छ । त्यो दिनका लागि निर्देशन जारी गर्ने भन्ने निर्णय भयो । कार्यतालिकाअनुसारनै संसद बैठकलाई अघि बढाउनका लागि संघीय संसद सचिवालयसँग छलफल गर्ने र बजेटको सिद्धान्त र प्राथमिकताबारे सहकार्य गरेर अन्य दलहरूसँग पनि कुराकानी गरेर कसरी अघि बढ्ने भन्ने एउटा निचोड निकाल्ने निर्णय भएको छ । विश्वासको मत जहिले भएपनि त्यसका लागि तयार भएर बस्ने कुरा बैठकमा भयो ।’
माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रिय सभाबाट बिदाइ भएका सांसदहरूले खेलेका भूमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ ।








