नेपाल हङकङसँग पराजित

काठमाडौँ । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा हङकङले नेपाललाई पराजित गरेको छ । घरेलु टोली हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो ।

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १३९ रन बनाउँदा अलआउट भयो । नेपालले १७ औँ ओभरमा १ सय ३९ रनको क्षतिमा सबै विकेट गुमायो ।

शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ विकेट क्याच र अन्तिम विकेट रनआउट भएको थियो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ हङकङका एजाज खान ४ र एहसान खानले ३ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

हङकङका बाबर हायातले ४९ बलमा १ सय १० रन जोडेका थिए । उनले ३ चौका र १३ छक्का प्रहार गरे ।

बाबर नेपालका तर्फबाट डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भएका थिए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट लिएका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिएका थिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाएका थिए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराए । निजाकतले खाता खोल्न सकेनन् ।

बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरेको खेलमा अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बनेका थिए । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भएका थिए ।

त्यस पश्चात् एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिएका थिए ।

नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी-२० सिरिज खेल्दै छन् । त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् ।

मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *