नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन् : पम्फा भुसाल (भिडिओ)

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।
शुक्रवार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताइन् ।
उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।
‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पु¥याउनुपर्छ’उनले भनिन् ‘यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’
उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् ।
उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन् ।
‘यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ’ उनले थपिन् ‘तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो ।’
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन् ।
उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् ।
‘यो बढी सजातिय भएको छ । राजनीतिक दल भनेको त वर्गको प्रतिनिधित्व गर्ने हाउनले भनिन् एकथरी सामन्त, जमिनदार, दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टी’ उनले भनिन् ‘त्यसो हुँदाखेरी स्वार्थ बाझ्ने र परिणाम केही नआउने । तर अहिले आउँदा अलि सजातिय ।’
उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताइन् ।
उनले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताइन् ।
उनी भन्छन्– ‘ढिलोचाँडो यो देशमा वामपन्थी एउटा धार, प्रजातन्त्र, लोकतन्त्र भन्नेको अर्को धार हुनुपर्छ । आवश्यकता हो । विगतको समिक्षा र अहिलेको आत्मसात् गर्दै वामपन्थी ध्रुविकृत हुँदै जाने हो भने जनताको हिस्सा वामपन्थीलाई मन पराउने छ । यो सहकार्यले आपसी विश्वास पैदा गर्दै मोर्चा गर्दै एउटा पार्टी भविष्यमा हुनैपर्छ ।’
उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् ।
उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।
संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाई छ । भुसालले महिलालाई पैत्रिक सम्पत्तिको मालिक बनाउने एजेण्डासहित अगाडी बढ्नुपर्ने बताइन् ।
महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।








