यूएन वुमनको अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री चौधरी नेतृत्वको टोली अमेरिका जाँदै

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।

भोलि मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोही निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेकी हुन् ।

देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तर्राष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गरेकी छन् । सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषद्बाट २ जनासहित महिला अधिकारवादीहरू समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरू गइरहेका छन् ।

यसैबिच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।

मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले बेहोर्ने छ । अन्यहरू व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =