परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभ्रोभबीच टेलिफोन संवाद : रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फिर्ता गर्न अनुराेध

रुसी सेनामा गैरकानूनी रुपमा नेपालीहरुलाई भर्ती गरेको विषयमा नेपाल सरकार र रुस सरकारबीच उच्च तहमा संवाद भएको छ।
निवर्तमान परराष्ट्र मन्त्री एनपी साउदले नै तय गरे अनुसार नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुस सरकारको तर्फबाट विदेशमन्त्री सर्जेई लाभ्रोभबीच बिहीबार टेलिफोन संवाद भएको हो।
रुसी सेनामा गैरकानूनी रुपमा भर्ती भएका नेपालीहरुलाई फिर्ता ल्याउन, युक्रेनसँगको युद्धको क्रममा मारिएकाको शव ल्याउन, घाइतेहरुलाई उद्धार गर्न, मृत्यु भएका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
टेलिफोन संवादमा उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनसँगको युद्धमा मारिएका नेपालीहरुको शव नेपाल पठाउन र क्षतिपुर्ति दिन आग्रह गरेका थिए।
श्रेष्ठले नेपालको पारम्परिक रुपमा केही मुलुक बाहेक अन्य मुलुकको सेनामा भर्ती हुने नीति नरहेको बताए । परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले रुसी विदेशमन्त्री लाभ्रोभलाई अहिले भर्ति भएका नेपालीलाई पनि फिर्ता गरिदिन आग्रह गरेका छन्।
रुसी सेनामा भर्ती भएका १२ नेपालीको हालसम्म मृत्यु भइसकेको छ। ५ जना युक्रेनी सेनाको कब्जामा रहेको बताइएको छ।








