बैंकको ऋण तिर्दिनँ भन्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिन्छ : अर्थमन्त्री पुन

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्नेलाई सरकारले नछाड्ने बताए। यस्तो अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने मन्त्री पुनले चेतावनी दिएका हुन्।

बधाई तथा शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नतिर्न भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको जानकारी दिए।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरूद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने मन्त्री पुनले बताए।

मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सके मात्रै बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले बताए।

मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न र अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे। गठबन्धन परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने पनि स्पष्ट पारे।

भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।

ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकाले गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरूले आग्रह गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =