गगनले प्रधानमन्त्रीलाई भने – ‘जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरूलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले बताए । उनले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताए । उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताए ।

उनले भने ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर गर्यौँ । गठबन्धन गरिसके पछाडि यो गठबन्धन भित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरू चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन । तर यी सबै कुराहरूको बेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरू प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन । उहाँले शिर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शिर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महसुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरि । यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ती मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजीकन संसद यत्तिकै अगाडी बढ्न सक्ला र ?’

उनले नेपाली काँग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =