सिके राउतको टिप्पणी– प्रचण्डमा ‘भ्यागुते प्रवृत्ति’ देखियो (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गठबन्धन परिवर्तनलाई ’भ्यागुते प्रवृत्ति’ को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले विदेशीले धाप पार्ने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मा गठबन्धन तोड्ने/जोड्ने प्रवृत्ति देखिएको आरोप लगाएका हुन् ।
’जुन प्रवृत्ति देखियो यसलाई भ्यागुते प्रवृत्ति भन्छु म । बरु भ्यागुतालाई समातेर जोख्न सकिन्छ। तर,अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला । कतिखेर कुन विदेशीले कतिबेला धाप मारिदिन्छ, कतातिर बुर्लुक्क उफ्रिदिनुहुन्छ। थाहै हुँदैन। यो उफ्राइले काठमाडौंमा मात्रै नभइ सातवटै प्रदेशका सरकार गल्याङगुलुङ ढलिदिन्छन्। जनता र देशले यातना खेप्नुपर्ने। देशले घाटा व्यहोर्नुपर्ने। उहाँ फेरि गर्वका साथ भन्नुहुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो मुलुकमा उथलपुथल भइरहन्छ। मानौं उहाँ शेषनाग हुनुहुन्छ यो धर्ती नेपाल उहाँको शीरमाथि अडिएको छ। उहाँले याद राख्नुपर्ने कुरा केछ भने हरेक शेषनागको लागि विष्णुको अवतार हुने पनि गर्छ।’








