इलाम–२ बाट उम्मेदवार छान्न एमालेले बनायो कार्यदल

काठमाडौं । नेकपा एमालले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि तयारी थालेको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको हो ।
एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ ।
जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ ।
उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ ।
यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।
एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशनमा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ ।
यसअघिका निर्वाचनमा पालिका र क्षेत्रीय समन्वय कमिटीमा समन्वय गरेपछिमात्रै जिल्लाबाट उम्मेदवार सिफारिस हुने गरेकामा अहिले भने जिल्ला कमिटीले सोझै तीनजनाको नाम सिफारिस गर्ने छ ।
इलाम—२ मा एमालेबाट दिवंगत नेता सुवास नेम्बाङका स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गरेका बुद्धीप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवम विश्लेषक डा.देवी क्षेत्री दुलाल, नेम्बाङका छोरा सुहाङ नेम्बाङलगायत उम्मेदवारका आकांक्षी छन् ।








