प्रहरीको ‘क्विक रेस्पोन्स’ उपकरणहरू सार्वजनिक

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको क्विक रेस्पोन्स टिममा रहेका प्रहरीहरूले प्रयोग गर्ने उपकरण सार्वजनिक गरेको छ ।
बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरि क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने भएको हो । क्युआरटी मोटरसाइकललाई प्रदान गरिएका सामानहरूमा जिपिएस ट्रयाकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, हेल्मेट, नि गार्ड, एल्बो गार्ड, ग्लोभ्स, चेस्ट भेस्ट, सन ग्लासेस, रेडियो सेट, लाइट विथ साइरन छन् ।

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले क्विक रेस्पोन्स टिम उपकरण टोली शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका महत्वपूर्ण साबित हुने बताए । उनले यसबाट प्रहरीमाथि लाग्ने गरेका आरोपहरू पनि नियन्त्रण हुने विश्वास व्यक्त गरे । क्युआरटीले प्रयोग गर्ने मोटरसाइकलमा जिपिएस ट्रयाकिङ जडित हुनेछ ।
उनले भने ‘शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका लागि र हामीमाथि लाग्ने एलिगेशनहरुमा पनि प्रहरीले यो ग¥यो, आक्रमण गर्यो, मुक्का हान्यो, मापसे गरेर दाँत फुस्किए पनि प्रहरीलाई दोष लगाउने कुरामा पनि यसले नियन्त्रण गर्दछ ।’

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा कायम गर्न अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्ने बताए । उनले प्रहरीका जनशक्तिहरू साधन श्रोतयुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले साधन र श्रोतको उपलब्धिपछि मात्रै चाहेअनुसारको शान्ति व्यवस्था कायम हुनसक्ने बताए ।
उनले भने ‘हामीलाई के थाहा छ भने शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा, अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्छ र हाम्रा जनशक्तिहरू साधन श्रोतयुक्त बनाउनुपर्छ । र मात्रै चाहे अनुसारको उपलब्धि हासिल गर्न सक्दछौँ । जबसम्म हाम्रा जनशक्तिहरू साधनश्रोतहरु सम्पन्न हुन सक्दैनन्, तबसम्म सोचेअनुसारको नतिजा हासिल गर्न सक्दैनौँ । हामीले गर्ने कामकारबाही प्रविधिमैत्री हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर बस्नेतले अहिले पनि प्रहरी समयमा नआइपुग्ने गुनासोहरू कायम नै रहेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले प्रहरीले आफ्नो कार्य क्षेत्र बाहिरिका कामहरु गर्ने की नगर्ने भन्नेकुरा पनि अहिले छलफलको रुपमा बाहिर आइरहेको बताए ।
उनले भने ‘अन्य ठाउँको भन्दा काठमाडौं उपत्यकाको रेस्पोन्स अलि बढी देखिन्छ । तर यतिले मात्रे पुग्दैन । अहिले पनि हामीलाई प्रहरी समयमा आइपुग्दैन भन्ने गुनासो आउने गरेको छ । यसलाई नलुकाइ भन्नुपर्छ । के कारणले भन्ने हो । प्रहरीको माग हुन्छ, प्रहरी पुग्दा सर्प आएको थियो, भगाइदिनुपर्यो भन्ने माग हुन्छ । त्यसले अर्को ठाउँमा घटना भयो भने हाम्रो उपस्थिति भर्छ । यो छलफलको विषय बनेको छ । हामीलाई दिएको कार्यबाहेकको काम गर्ने की नगर्ने भन्ने छ । घरेलु झगडाको धेरै नै समस्या आएका छन् ।’
उनले घरेलु झगडाका उजुरी प्रहरीमा धेरै आइरहेको बताए ।









