रविलाई प्रधानमन्त्री बन्न अफर आएकै हो ?

काठमाडौं । एकाएक सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले तथ्य भन्दा पनि अड्कलबाजी बढी आइरहेका छन् । ठोस निर्णय भईनसकेका कुराहरूमा नेताहरूले बोलेकै भरमा विभिन्न अड्कलबाजी र टिप्पणीहरू भइरहेका हुन् ।
अहिले नयाँ बनेको गठबन्धन सरकार कति समय टिक्छदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेकोसम्म चर्चा छ । उसो त राजनीतिक दलका नेताहरू आफू सत्ताबाट हटेको दिनदेखि नै फेरि कसरी पुग्ने भन्ने ध्याउन्नमा देखिन्छन् । जनताको एजेन्डाको पुरै बेवास्ता गर्दै सधैँ सत्ता र शक्तिमा झुमिने बानी परेका नेताहरूलाई प्रतिपक्षी भूमिका बस्ने रहर नै लाग्दैन ।
त्यही कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य टुटाएर एमालेसँग काँध जोडेपछि कांग्रेसमा फेरि छटपटाहट सुरु भएको छ ।कांग्रेसका केही नेताहरूले अहिलेको गठबन्धनलाई असफल पार्न रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको सामाजिक सञ्जालमा चर्चा आइरहेको छ । रास्वपाकै नेताहरूलाई स्रोतको रुपमा प्रयोग गरेर सञ्चारमाध्यमहरूमा पनि यो विषय सार्वजनिक भयो ।
के कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको अफर गरेको हो त ? प्रश्न अनुत्तरित नै छ । तर पनि कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर अहिलेको गठबन्धनमा बहुमत पुग्न नदिने खेल नखेल्ला भन्न सकिँदैन । यी अड्कलहरुकाबीच एउटा लामो इतिहास भएको लोकतान्त्रिक पार्टीले त्यति काँचो र कच्चा खेल कसरी खेल्ला भन्ने प्रश्न पनि छ ।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले कांग्रेसबाट प्रस्ताव आएको स्वीकार गरे । ‘हिजो नयाँ गठबन्धन बनेलगत्तै कांग्रेसले विभिन्न सूत्रमार्फत प्रधानमन्त्रीको प्रस्ताव पठाइरहेको छ । तर, कांग्रेसको शीर्ष तहसँग प्रत्यक्ष संवाद भएको छैन,’ उनको भनाई थियो ।
तर कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गर्छन् । सामाजिक सञ्जालमा कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला चलेसँगै महामन्त्री शर्माले आफ्नो दलले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका हुन् ।
शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र सोधिरहनु भएको छ- के कांग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौँ- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !’








