भागबण्डा मिलाउन बालुवाटारमा नयाँ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउनेसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको संयुक्त बैठक शुरू भएको छ ।
मंगलवार साँझ बसेको बैठकले मन्त्रालयको भागबन्डा, सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘हिजोमात्रै नयाँ समीकरण बनेपछि आज सबै दलका शीर्ष नेता र कार्यदलको बैठक शुरू भएको छ । यो पहिलो आरेन्टेसन जस्तो छलफल हो । यसमा मन्त्रिमण्डल कसरी भागबन्डा गर्ने, मन्त्रालयको वर्गीकरण, मापदण्ड र सरकारको साझा न्यूनतम् कार्यक्रमसहितका विषयमा छलफल हुन्छ’, आचार्यले भने, ‘यी सबै प्रक्रिया पूरा गरी पूर्ण आकारमा मन्त्रिपरिषद् विस्तार गर्न तीन चार दिन लाग्छ ।’
आइतवार राति कांग्रेससहितको गठबन्धन सरकार टुटेर एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन सरकार बनेको थियो ।
यिनै दलका शीर्ष नेता र भागबन्डासहितका विषय मिलाउन बनेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।
सोमवार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
चार दलले सोमवार नै ८ बुँदे सहमति गर्दै सहमतिका आधारमा गठन सञ्चालन गर्ने, नीति कार्यक्रम बनाउने, राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिनेसहितका ८ बुँदे सहमति गरेका थिए ।








