सम्भावित कार्यसूचीमा छैन प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९-८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१-८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रचण्डले सम्बोधन गर्ने
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।
प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । यद्यपि बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीको सम्बोधन समावेश गरिएको छैन ।








