अर्थमन्त्रीलाई ओलीले भने– ‘थोत्रा सिद्धान्त बोकेर देश ओरालो लगाउने’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन् ।
आइतबार संसद भवनमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको सरकार रहेको बताए । उनले अर्थमन्त्री डा. प्रकाशशरण महतमा अर्थमन्त्रीले नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको बताए । उनले देशको अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेको बताए ।
उनले भने ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ । सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ । देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरू फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’
अध्यक्ष ओलीले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको बताए । उनले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको बताए । उनले नेकपा एमाले आइपरे सत्तामा जाने पनि बताए ।








