फागुन ११ गते मृत भेटिएका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनि आफूलाई फोन आएको भनि पीडित प्रहरी वृत्त जगातीमा उपस्थित भइ सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका पडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए ।
खोजतलासका क्रममा शनिवार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको बताए ।
उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले बताएको छ ।
यस्तै प्रहरीले सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाएर करिव ५० लाख ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई पुरानो बानेश्वर काठमाडौं बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह रहेका छन् ।
यस्तै बारा कलैया उपमहानगर ११ घर भई भक्तपुर गट्ठाघर बस्ने २२ वर्षका रामसेवक राम र पर्सा वीरगञ्ज १५ घर भई गट्ठाघर भक्तपुर बस्ने २४ वर्षका आकाश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने, आकर्षक तलबमा विदेश पठाउने लगायतका प्रलोभन देखाएर ४९ लाख ५८ हजार ८ सय रकम ठगेको प्रहरीले जनाएको छ ।








