चोरी पैठारीका कारण हैरान नेपाली जुत्ता उत्पादक, भन्छन्– ‘तिनै हाम्रा प्रतिस्पर्धी भए’

इटहरी । बजारमा अहिले पनि चोरी पैठारीबाट आएका जुत्ता चप्पलका कारण स्वदेशी बस्तुको प्रवर्द्धन हुन सकेको छैन । उपभोक्ता र उत्पादकको बिचमा सिधा सम्बन्ध स्थापित गर्ने र स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने हेतुले कोसी प्रदेशको व्यवसायी केन्द्र इटहरीमा अहिले जुत्ता चप्पल मेला जारी छ । नेपाली जुत्ता चप्पलको बजार, विदेशी उत्पादनको प्रभाव, स्वदेशी जुत्ता चप्पलको व्यवस्थापन र चुनौतीका विषयमा केन्द्रित रहेर बिएफ डियरहिल सुजका प्रबन्धक होमनाथ उपाध्यायसँग गरेको कुराकानी …

इटहरीमा जुत्ता चप्पल महोत्सव गर्दै गर्दा तपाईँलाई कस्तो लागि रहेको छ ?

एउटा कुरा त गौरव लागेको छ । अर्को कुरा यहाँ आउँदै गर्दा यहाँका स्थानीय व्यवसायीले हामीलाई सर्वसुलभ रूपमा स्वागत नगरेको अबस्था पनि हामीले झेल्नु पर्‍यो । यद्यपि हामी प्राउड नै गर्छौ यो इटहरीमा आएर यहाँका व्यवसायी, यहाँका सञ्चारकर्मी तथा यहाँका विविध पक्षले हामीलाई स्वागत गर्नु भएको छ। हामी खुसी छौँ ।

स्थानीय व्यवसायीले सहज स्वीकार गरेनन् भन्नुभयो, तपाईँहरूलाई नस्विकारेको हो की जुत्ता चप्पल महोत्सव गर्न नदिएको हो ?

हामीले ल्याएको व्यापारिक, व्यवसायी प्रवर्द्धनको अभियानलाई स्वीकार नगरेको अवस्था हो । हामी स्थानीय रूपमा मन्दीको बेलामा पनि व्यवसायको प्रवर्द्धन र बजार चलायमान गराउनु पर्छ भन्ने अभियानको साथ देश भरी नै यस्ता खालका स्वदेशी बस्तुको प्रचार प्रसार गर्ने हेतुले अभियान सञ्चालन गर्छौ । त्यही व्यवसाय प्रवर्द्धन गर्ने कुरालाई नै स्वीकार नगरेको हो कि जस्तो हामीलाई लागेको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न इटहरीमा सुरु भएको यो अभियान कस्तो खालको हो ?

यो हामी नेपाल भरी नै गर्छौ । हाम्रो स्लोगन छ, ‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ यो विशेष हाम्रो अभियान हो । स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई आम उपभोक्ता माझ पुर्‍याउने र आफ्नो ब्रान्ड, आफ्नो उत्पादन, उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र उद्यमीले उत्पादन गरेका सामाग्रीहरू सिधै उपभोक्तासम्म पुर्‍याउन तथा आफ्नो उत्पादनको गुणस्तरको परीक्षण गराउनु नै हो । त्यही परीक्षण गराउन हामीले इटहरीलाई रोजेका हौँ ।

तपाईँहरूले यस्ता जुत्ता चप्पल महोत्सव यस अघि अरू सहरहरूमा पनि लगाइसक्नु भएको हो ?

यो भन्दा पहिला पनि हामीले धेरै सहरहरूमा यस्ता जुत्ता चप्पल मेला लगाई सकेका छौँ । मेलाको इतिहासको बि.सं.२०५९ सालदेखिको हो । त्यो बेला छाला जुत्ता तथा बस्तु उत्पादक सङ्घ भनेर थियो । त्यो सङ्घले २०५९ सालदेखि हामी बस्तुगत सङ्घले एकल रूपमा मेला महोत्सवको सुरुवात गरेको हो । यो क्रम २०६२/०६३ सालसम्म हामीले सामान्य प्रदर्शनीको रूपमा मात्र राख्ने गरेका थियौँ । त्यो बेला नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूको सङ्ख्या पनि कम थियो । उत्पादक भएर पनि नेपाली भनेर ब्राण्डिङ गर्ने, प्रचारप्रसारको अभाव थियो । मान्छेले नेपाली भनेर हाम्रो उत्पादन बिक्ने अवस्था थिएन । नेपाली भए पनि विदेशबाट आउने जुत्ताको नाममा राखेर बेच्नु पर्ने बाध्यता थियो । एकाध कम्पनी बाहेक विदेशी नाममा जुत्ता बनाएर बेच्थ्यौँ । मेला महोत्सव सुरु गर्न थालेपछि त्यस्ता मेलामा विदेशी नाम गरेका जुत्ता राख्न मिलेन त्यसपछि मात्र हामी व्यवसायी सजग भयौँ । अनि मात्र आफ्नै ब्रान्डको नाममा, आफ्नो मौलिक उत्पादनलाई प्रचारप्रसार गर्नु पर्छ भनेर आफ्नै ब्रान्डमा जुत्ताहरू उत्पादन गर्न सुरुवात गरेका हौँ । २०६८।०६९ सालदेखि हामीले एउटा सामूहिक सो रुम ‘नेपाली जुत्ता घर’को स्थापना गरेर विभिन्न ठाउँहरूमा व्यापार मेला गर्न सुरु गरेको हो । त्यसपछि फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसन अफ नेपाल परिवर्तन गरेर नाम राखिएको हो । यस फुटवेयर म्यानुफ्याक्चरिङ एशोसिएसनले वर्षमा दुई पटक काठमाडौँमा मेला लगाउने गरेको छ। एक पटक औद्योगिक प्रदर्शनी र एक पटक जुत्ता चप्पल मेलाको नामले गरिसकेका छौँ । विराटनगरमा २ पटक फुटवेयर मेला गरेका छौँरु बुटवलमा ३ पटक, हेटौँडा, पोखरा तथा बिर्तामोड लगायतका मुख्य सहरहरूमा यस्ता खालका मेला तथा प्रदर्शनी गर्दै आएका छौँ ।

यस्ता मेलाहरूबाट तपाईँहरूले के प्राप्त गर्नु भएको छ ?

नेपालमा पनि जुत्ता बन्छ र रु नेपाली उत्पादन पनि राम्रो छ र रु भन्ने खालका भ्रमलाई चिर्ने काम गरेको छ । हामीसँग सरोकार राख्ने, नेपाली उत्पादनलाई माया गर्ने उपभोक्ताले त्यो मेलामा जुत्ता किनेपछि त्यसयता मैले विदेशी जुत्ता लगाएको छैन भन्ने गरेको पाएका छौँ । नेपाली ब्रान्ड मात्र लगाउँछु भन्ने धेरै उपभोक्ताहरू हामीसँग जोडिनु भएको छ । उपभोक्ताको चाहना अनुसार पनि आफ्नो उत्पादनको प्रवर्द्धनमा प्रत्यक्ष आफ्ना उपभोक्ताको बिच पुग्ने एउटा अवसरको रूपमा हामीले लिएका छौँ ।

अरू सहरहरूमा मेला गर्दा स्वागत गरियो, तर इटहरीमा व्यवसायीबाट विरोध नै हुनुको कारणलाई कसरी लिनु भएको छ ?

अब हामीहरूबाट पनि केही कमी कमजोरी भए होलान् । यहाँका व्यवसायीहरूले आउन भन्दा अगाडी हामीसँग समन्वय र छलफल गर्नुपर्थ्यो गर्नु भएन भन्ने गुनासो थियो । त्यो उहाँहरूको गुनासोलाई हामीले स्वीकार गर्नै पर्छ, हामी गर्छौ । अन्य ठाउँ र यहाँको मेलामा अरू भन्दा केही फरक जस्तो हामीलाई लाग्दैन । जुन हिसाबले हामी अरू ठाउँमा प्रस्तुत हुन्थ्यौँ, त्यही हिसाबले नै हामी इटहरीमा पनि उपस्थित भएका हौँ । अब इटहरीलाई नै किन छानियो भन्ने प्रश्न उठ्न सक्छ । हामी विराटनगर र बिर्तामोडमा गरिसकेका छौँ । इटहरी पूर्व,पश्चिम र उत्तरी भेगका ४/५ जिल्लाको ट्रान्जिट प्वाइन्ट हो । विराटनगर एउटा जिल्ला लक्षित हुन्थ्यो, बोर्डर क्षेत्रका उपभोक्तालाई लक्षित गरिएको थियो । यसपालि इटहरीमा गर्दा उत्तरी ४।५ जिल्लाको उपभोक्तालाई लक्षित गरी यहाँ ब्राण्डिङ गर्दा उपयुक्त माईलेज पाईन्छ भन्ने हाम्रो अपेक्षा हो । हामी यहाँ आए पनि मेला महोत्सवले सबैलाई फाइदा पुग्छ । अरूभन्दा हाम्रो फुटवेयर महोत्सव फरक छ । अन्य सङ्घ संस्थाले आयोजना गरेको महोत्सवमा टिकट बिक्री वितरण हुन्छ, प्रवेश शुल्क लिइन्छ, गाना बजाना हुन्छन्, खानपानको स्टल हुन्छन्, पिङहरू खेलिन्छ, रमाइलो मेलाहरू हुन्छन्, राष्ट्रिय कलाकारहरू ल्याइन्छन् तर यो मेला उत्पादनको विशुद्ध प्रवर्द्धन गर्ने हो । यो मेला भनेको बजार प्रवर्द्धन गर्ने अभियान हो । मेला चल्दैनन् भनेका ठाउँहरूमा पनि प्रशस्त व्यापार भएको छ र स्वदेशी बस्तुको प्रचार प्रसार भएको छ । उपभोक्तामा स्वदेशी बस्तु प्रतिको माया छ, बजारमा भन्दा मेला महोत्सवमा उपभोक्ताको भिड हुन्छ भन्ने व्यवसायीहरूमा पर्न सक्छ । तर त्यो कुरामा म सहमत छैन । जुन उदेश्यकोलागि सहरमा कार्यक्रमको आयोजना हुन्छ त्यसको प्रचारप्रसार, मिडिया ब्राण्डिङ सबै कुरा गरिरहँदा जुन बस्तुको प्रवद्र्धनको लागि काम भइरहेको हुन्छ त्यसको चर्चा बढी हुन्छ । जुत्ता चप्पल पुरानो भएको कारण भोली पर्सी जाउँला भनेर बसिरहेको मान्छे पनि जागरूक भएर बजार जान्छन् । हामी मेलामा ५ वटा ब्रान्ड मात्र छौँ । सबैको चाहना, रुचि अनुसारको जुत्ता त हामी दिन सक्दैनौँ । बजारमा आइसकेको ग्राहक हामीसँग चित्त नबुझ्दा त्यही बजारमा नै गएर किन्ने हो । दुई चार वटा ब्रान्ड त हामीसँग छन्, बाँकी ब्रान्ड त बजार मै छन् । जाने ग्राहक भनेको बजारमा नै हो । हामीले त बजारमा ग्राहक ल्याइदिने काम गर्छौँ । यहाँका व्यवसायी साथीहरू निरुत्साहित हुनु पर्ने अवस्था हैन, उत्साहित हुनु पर्ने हो ।

स्वदेशी बस्तुको बजारीकरण र प्रवर्द्धनलाई भारतीय उत्पादनले कतिको अप्ठ्यारो पारेको छ ?

बोर्डरसँग जोडिएका खुल्ला सिमानाको नजिक भएका सबै सहरहरूमा यो समस्या छ । विजक नै नभई आउने, भन्सार नतिर्ने सबै खालका उत्पादनहरू हाम्रो प्रतिस्पर्धी उत्पादन हुन् । प्राय गरेर बजार क्षेत्रमा बाहिरबाट खुल्ला बोर्डर मार्फत बिना भन्सार आएका, चोरी पैठारी भएका बस्तु नै मुख्यतः प्रतिस्पर्धी हुन् ।

धेरै टाढा जानै पर्दैन । विराटनगरको जुत्ता पसलहरूमा गएर हे¥यो भने ८० देखि ९० प्रतिशत भारतीय उत्पादन नै विक्री वितरण भएको पाइन्छ । यहाँका वाणिज्य विभाग तथा अन्य सरोकारवालाहरूले त्यहाँ बिक्री वितरण भएको जुत्तामा बिल बिजक खोजी गर्ने, आयातित प्रज्ञापन पत्र खोज्ने हो भने बिलको केही मात्रामा मात्र पाइन्छ होला अन्यथा त्यस्ता विक्री वितरण भएका जुत्ताहरूमा बिल बिजक जारी भएकै पाइँदैन । यसरी हेर्दा बोर्डरमा चोरी पैठारीको बिगबिगी नै छ ।

तपाईँहरू जुत्ता चप्पल उत्पादकका समस्याहरू चाँही के हुन् ?

फुटवेयरसँग सम्बन्धित धेरै समस्याहरू हाम्रो माझमा छ ।मुख्य चुनौती भनेको चोरी पैठारी भएर आएका जुत्ता चप्पलहरू बजारमा पाउने नै हो । हाम्रो कच्चा पदार्थ र तयारी बस्तुको बिचमा भन्सार दरभाउ तात्त्विक फरक नहुने गरेको छ। कतिपय अवस्थामा हामीले प्रयोग गर्ने कच्चा पदार्थ अरू कसैकोलागि फिनिसिङ प्रडक्ट हुन् । कच्चा पद्धार्थको पहिचान अनुसार भन्सार दर नहुँदा हामीले उत्पादन गर्ने तयारी बस्तुको भन्दा महँगो दरमा कच्चा पद्धार्थको भन्सार दर तिरिरहेको अवस्था छ। नेपाल भित्रै सबै खालको कच्चा पद्धार्थको सहजता छैन, सामानको सहज डेलिभरी नहुने, कच्चा पद्धार्थको अभावले गर्दा एउटा सामानको माग छ तर कामदारलाई अर्कै काम लगाउनु पर्ने बाध्यता छ । अहिले पनि बजारमा जुत्ता उत्पादनमा दक्ष कालिगडको अभाव छ । धेरै कालिगड उत्पादन गरिएको छ, तर पनि वैदेशिक रोजगारीको आकर्षणले कामदार टिकाउनै समस्या छ । एक दुई वर्ष मात्र पनि टिकाउन नसक्नु हाम्रो बाध्यता हो । यहाँ ३५।४० हजार आरामले कमाउँदा कमाउँदै पनि त्यस्ता कामदार बिदेसिएका छन् ।

चोरी पैठारी नियन्त्रणमा राज्यले लचकता अपनाएकै कारण स्वदेशी उत्पादन अप्ठेरोमा परेको हो ?

पक्कै पनि त्यो देखिन्छ । राज्यले चाहँदा गर्न सक्छ भन्ने एउटा मात्र उदाहरण कोभिडको समयलाई हेरे पुग्छ । लकडाउनको बेलामा बोर्डर क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो, आवत जावत नै बन्द थियो । त्यो बेला पूर्ण रूपमा गरिएको लकडाउन पछि खुलेको बजारमा नेपाली उत्पादनले राम्रो बजार लिएको थियो । ६ महिना भन्दा बढी समयसम्म स्वदेशी उत्पादनको एकछत्र व्यवसाय थियो । चोरी पैठारी नियन्त्रण कोलागि राज्यले चाह्यो भने धेरै गर्न सक्छ । भन्सार दर बढाउने, जुत्ताको मूल्य बढाउने, बाहिरबाट आएका उत्पादनलाई मूल्याङ्कन बढाउने यी सबै प्रयासहरू पनि नभएका हैनन् । हामीले लबिङ गर्दा त्यो कुरालाई सरकारले स्वीकार गरेको पनि छ। अर्थमन्त्री युवराज खतिवडा हुँदा जुत्ताको भन्सार दरलाई ३० प्रतिशतबाट ४० प्रतिशतसम्म पु¥याएको थियो । जुत्ता चप्पल स्वदेशी उत्पादन हो यसको प्रवर्द्धन गर्नुपर्छ भनेर सरकार लागिरहेको पनि छ तर यसको कार्यान्वयन पक्ष असाध्यै कमजोर छ । त्यो बेला बढेको जुत्ताको भन्सार दरले अहिले नेपाली उत्पादकलाई ब्याक फायर भइरहेको छ। ३० प्रतिशतको दरबन्दीलाई ४० प्रतिशत गरियो । त्यो बचाउनको लागि व्यवसायीले थप चोरी पैठारी गर्ने गरेको देखिन्छ । भारतीय सीमा क्षेत्रमा चोरी पैठारी बढ्यो । बरु थोरै मात्र भन्सार दर बनाएको भए थोरै भए पनि भन्सार तिरेर लग्नु पर्छ भन्ने हुने थियो की जस्तो देखिन्छ । अहिले भन्सार वृद्धि हुँदा चोरी पैठारी बढेको अवस्था छ । कच्चा पद्धार्थको दर पनि यो वर्ष बढेको छ । १०, १५ प्रतिशत भएको दरलाई २० प्रतिशत गरियो । सरकारलाई सहयोग गर्नु पर्छ, राजश्व बढाउनु पर्छ भनेर हामीले नै स्वीकार गरेका हौँ ।

अहिलेको जुत्ता चप्पल बजारको अवस्था के हो ?

कोभिड पछि जुत्ता चप्पलको बजार खस्किएको छ । जसरी अरू उद्योगहरू प्रभावित भएका छन् त्यसै गरि यो क्षेत्र पनि प्रभावित भएको छ। हाम्रा ग्राहकहरूले मासिक भाडा तिर्न सकेका छैनन्, उनीहरूको दोकान घर खर्च चलाउन हम्मे छ, हामीले दिएको उधारो तिर्न सक्नु भएको छैन । अहिलेको अवस्था राम्रो छैन ।

तपाईँहरूको जुत्ता चप्पल मेलाबाट उपभोक्ताले के पाउने ?

हामीले उत्पादन गरेको निश्चित ब्रान्डका बस्तुहरू व्यवसायीको रोजाइमा मात्र जाने हो । उपभोक्ताको रोजाइमा भन्दा पनि हाम्रा डिलरहरूको रोजाइमा जाने हुन् । सबै उत्पादन, सबै भेराईटी, सबै डिजाइन उपभोक्ता सँग पुग्दैन । अर्को भनेको उपभोक्ता र उत्पादकको बिचमा जाने मूल्यको फरक छ त्यो केही रूपमा हामी सिधै उपभोक्तासम्म पु¥याउँछौँ । कतिपय हामीले उत्पादन गरेका तर डिलरले मन नै नपराएका उत्पादनहरू अहिले यहाँ भिड लागेको देखिन्छ । उपभोक्ता र व्यापारीको रोजाई नै फरक हो भन्ने हामीले मेला, महोत्सव र प्रदर्शनीबाट पाएका छौँ । यहाँको उपभोक्तालाई हाम्रो उत्पादन सुपथ मूल्यमा पु¥याउनको लागि पनि यो मेला हो । तपाईँहरूले देख्नु नै भएको होला, इटहरी जुत्ता चप्पल महोत्सवमा १५ देखि ५० प्रतिशतसम्म छुटमा उत्पादन बिक्री वितरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *