सरकारले सुशासनको हल्ला बढी गर्‍यो, आफ्ना मान्छेको अनुहार देखेपछि पछाडि फर्कियो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताएका छन् ।

जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन सरकार पूर्ण रूपमा असक्षम र असफल सावित भएको दाबी गरे । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरूले अहिले गति लिन नसकेको बताए । उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए ।

उनले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जना गरेको बताए । उनले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको समेत बताए ।

उनले भने, ‘पहिलो कुरा त गठबन्धन सरकार पूर्ण रूपमा असक्षम र असफल सावित भएको छ । खासगरी नेकपा एमाले सरकारमा रहँदा विकास निर्माणका कामहरू जुन गतिका साथ अघि बढेका थिए, तराई मधेसकै विकास र समृद्धिको यात्रामा जुन प्रकारको तिब्रता देखिएको थियो । सिंगो राष्ट्रको विकास र समृद्धिमा जस्तो तिब्रता देखिएको थियो । गठबन्धन सरकार बनेपछि त्यो रोकिएको छ । एक प्रकारले यति बेला सरकार खर्च जुटाउने कुरामा पनि असफल छ । शिक्षक, कर्मचारीको तलव आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था छ । पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा छ । पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार हो । त्यसमा पनि सरकार असफल छ । सुशासनमा सरकार कति असफल र निकम्भा छ भन्नेकुरा अनुसन्धानका लागि मन्त्रीहरू झण्डा हल्लाएर अख्तियार धाइरहेका छन् । सामान्यतया अभियोग लागेपछि र अनुसन्धानको प्रक्रिया शुरु भएपछि पदमा बसिरहन मिल्दैन । सरकार स्वयं आफैँले अनुसन्धान गर्दा मन्त्री दोषी किटान हुन्छ, राजीनामा दिँदैन । सम्पदा क्षेत्र एक किसिमले विदेशीलाई जिम्मा लगाउने काम हुन्छ, लामो समयको लिजमा, सर्वोच्चले गलत काम भयो भन्छ तर तर त्यसका दोषीलाई कुनै कारबाही हुँदैन । सरकारले सुशासनको हल्ला त बढी गर्‍यो, आफ्ना मान्छेहरूको जब अनुहार देखिन थाल्यो, सरकार त्यसबाट पूर्णतः पछाडि फर्कियो ।’

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =