कामपाले फुटपाथ व्यापारीमाथि ज्यादती गर्यो, संघीय सरकारले हस्तक्षेप गर्नुपर्छ : सांसद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौँ महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताए । उनले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए ।
उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । त्यस्तै दुग्ध किसानहरूको रकम भुक्तानी गर्न पनि माग गरे ।
उनले भने – ‘काठमाडौँ महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय छ । यस्ता कार्य गर्ने कुराको तत्काल संघीय सरकारले पनि आवश्यकता पर्यो भने हस्तक्षेप गरोस् ।’
उनले बुढीगण्डकी जलविद्युत आयोजना अगाडी बढाउने सरकारलाई दबाब दिए ।








