दुग्ध किसानलाई रकम भुक्तानी गर्न राप्रपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरूको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरू रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरूले पाउनुपर्ने रकम चाँडो भन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।

उनले दुग्ध किसानहरू पनि केही दिनमा मिटरब्याजी र लघुवित्तपीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताए । उनले दुग्ध किसानहरू आन्दोलित भएमा उनीहरूको आक्रोश सरकारले थेग्छ कि थेग्दैन भनि प्रश्न समेत गरे ।

उनले भने – ‘आज दुध किसानहरू कन्टेनरका कन्टेनर, ट्यांकरका ट्यांकर बाटोमा खसाइराखेका छन् । सरकार केही हेर्न सकेको छैन । अस्ति भर्खर प्रधानमन्त्रीज्युले कृषिमन्त्री र अर्थमन्त्रीलाई किसानको भुक्तानी दिनु भन्छन् । मन्त्रीज्युसँग छैन । मन्त्री पैसा हामीसँग छैन भनेर टार्छन् । अब केही दिनमा ती किसानहरू पनि जसरी मिटरब्याजी र सहकारी ठगका विरुद्धमा काठमाडौँ आएका छन्, हजारौँ हजार दुध व्यापारी किसानहरू यो उपत्यकामा आउँदैछन् । त्यो अवस्थामा, त्यो बेलामा आक्रोश थेग्न सक्छ कि सक्दैन ? जसरी केही दिन पहिला मिटरब्याजीहरुले माग पूरा नभएपछि छातीमा गोली थाप्न तयार छौ भनेर यही सदनको अगाडी आएको देखेका छौँ । किसानलाई पनि आत्मदाह वा गोली खानको लागि यही निम्त्याउन त खोजेको होइन ? त्यसकारण किसानहरूको चाँडोभन्दा चाँडो रकम भुक्तानी गरेर उनीहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग राख्दछु । आज प्रधानमन्त्री चितवन जाँदाखेरी महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू बन्द गरी र्‍यालीमा जयजयकार मनाइरहेका छन् । यही दिनको लागि यो गणतन्त्र ल्याएको हो ? अब बेला भइसकेको छ, अवस्था र व्यवस्था परिवर्तन गर्नको लागि राप्रपाले चैत्र १६ गते जनआन्दोलन घोषणा गरेको छ । सबै जनतालाई आउन आह्वान गर्छु ।’

सांसद सिंहले चैत्र १६ गतेदेखि राप्रपाले अवस्था र व्यवस्था परिवर्तनका लागि जनआन्दोलन गर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =