मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सांसद बडूको माग

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे । उनले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।

कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उनले दुध किसान र मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि भइरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।

सांसद बडुले भने, ‘केही दिनयता छापाहरूमा निरन्तर रूपमा दुग्ध किसानहरूले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुपर्‍यो । मिटरब्याज पीडितहरूका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं । तर आजबाट सबैतिरबाट काठमाडौँ धाउनुपर्ने अवस्था किन रह्यो ? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुपर्‍यो । संसदमा संशोधन गरौँ । होइन कानुनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो । त्यसकारण सरकारले यी सबै विषयमा छिटो भन्दा छिटो संसदमा जवाफ दिनुपर्‍यो ?’

सांसद बडूले मिटरब्याज सम्बन्धी कानूनमा कुनै त्रुटी भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *