संसदले प्रस्ताव गरेको बजेट बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन् ।

शुक्रवारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संसदले प्रश्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताए । उनले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भनेपनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पारे ।

उनले अरू सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रश्तावअनुसार विनियोजित गर्नुपर्ने बताए । उनले कर्मचारीहरूले बढी समय काम गरेको कुरालाई पारिश्रमीकमा नियन्त्रण गर्नु नहुने बताए ।

उनले भने, ‘हाम्रो जोड जहिले पनि के हो भने संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ । उसले सिलिङ भनेर तोक्ने होइन । सरकारको अहिलेको आर्थिक अवस्थाले कमी हुन्छ भने बसेर केही तलमाथि गर्न सकिन्छ । छलफल गरेर मात्रै । अरू सबै कुरा रोकेर पनि संसदीय प्रक्रिया रोक्न सकिँदैन । पैसा पुगेन विधेयक निर्माण प्रक्रिया रोकौँ भनेर सम्भव हुँदैन । त्यसैले सडक बरु घटाउन सकिन्छ, खानेपानीका योजनाहरू केही कम गर्न सकिन्छ । अर्को वर्ष गर्न सकिन्छ । तर संसदका गतिविधि घटाउन सकिँदैन । विधेयक पास गर्नेकुरा कम गरौँ भनेर हुँदैन । यहाँका लागि बजेट आवश्यक हिसावले गर्नुपर्छ । रातदिन काम गर्दा कर्मचारीले पाउने सेवा सुविधा नियन्त्रण गर्नु हुँदैन । ओभर टाइम काम हुन्छ भने त्यो अनुसारको पारिश्रमीक दिनुपर्छ । हामीले प्रयास गरिरहेका छौँ । आगामी बजेटबाट त्यो पूरा होला ।’

मन्त्रीहरूले दिएका आश्वासन मन्त्रीहरूलाई स्मरण गराउन समिति जागरूक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *