विकास गर्ने भए सुशासन चाहियो : प्रकाश पन्थ

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले दिगो विकासका लक्ष्य हासिल हुनेगरी अबका विनियोजन बजेट र कार्यक्रम आउन जरुरी रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले विनियोजनको सिद्धान्त र प्राथमिकता व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको महसुस हुनेगरी, सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तन हुने गरेर र संविधान र मौलिक हक कार्यान्वयन हुनसक्नेतर्फ सरकारको प्राथमिकता केन्द्रित हुनुपर्ने बताए ।
उनले स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न गराउने गरी, बलियो र सक्षम बनाउने गरी संघीयता सबलीकरणमा केन्द्रित हुन जरुरी रहेको बताए । उनले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रदान हुन आवश्यक रहेको बताए । सुशासन बिना विकास सम्भव नरहेको र प्रधानमन्त्री कार्यालयदेखि वडा तहसम्म भ्रष्टाचारविरुद्ध कडा र निर्मम कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘दिगो विकासका लक्ष्य हासिल हुनेगरी अबका विनियोजन बजेट र कार्यक्रम आउन जरुरी छ । विनियोजनको सिद्धान्त र प्राथमिकता व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको महसुस हुनेगरी, सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तन हुने गरेर र संविधान र मौलिक हक कार्यान्वयन हुनसक्ने खालको अब हाम्रो प्राथमिकता त्यतातर्फ उन्मुख हुन आवश्यक छ । स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न गराउने गरी, बलियो र सक्षम बनाउने गरी संघीयता सबलीकरणमा फोकस गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य, सुशासनको प्रदान हुन आवश्यक छ । सुशासन बिना विकास सम्भव छैन । प्रधानमन्त्री कार्यालयदेखि वडा तहसम्म भ्रष्टाचारविरुद्ध कडा र निर्मम कदम चाल्नुपर्छ । विकास गर्ने भए सुशासन चाहियो ।’
उनले समृद्धिको लागि सामाजिक न्याय अपरिहार्य भएको पनि बताए ।








