सांसद पराजुलीको प्रश्न : सर्वसाधारणले बनाएका संरचनाहरूको गुणस्तरका जिम्मेवारी कसले लिने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुणस्तरहीन छडबाट सर्वसाधारण नागरिकहरूले बनाएका संरचनाहरूको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडहरूको कारण सर्वसाधारण नागरिकले बनाएका संरचनाहरू जोखिमयुक्त रहेको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले निर्माण प्रक्रियामा सरकारले बनाउने ठूला योजनाहरूमा गुणस्तर मापन हुने तर सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीहरूको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको बताए ।
उनले सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा आवश्यक हुन्छ भन्नेबारेमा पनि छलफल हुन जरुरी रहेको बताए ।
उनले भने ‘निर्माण प्रक्रियामा जब ठूला ठूला प्रोजेक्टहरूले त गुणस्तर मापन गर्दछन् । तर सर्वसाधारण नागरिकहरूले बनाएका संरचनाहरूको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदि छडहरू गुणस्तरहीन छन् र बनेको संरचनाहरू साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने, यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु । यो पाटोबाट हेर्नुपर्छ । कतै न कतै सरकारले तत्कालीन समयमा जस्टिफाइ गर्दैगर्दा रोजगारी सिर्जना हुन्छ, खपतसँगै निर्यात पनि गर्न सकिन्छ भन्ने विषयमा कुरा आयो । सबै उद्योग समान रुपमा सञ्चालनका लागि पहल गर्नुपर्छ । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना गर्दा रोजगारी सिर्जना हुनसक्छ बढी भन्ने बारेमा सोच्नुपर्छ ।’
उनले नेपालमा रोजगारी बढी दिनसक्ने उद्योगहरूको सञ्चालन आवश्यक रहेको बताए ।








