कांग्रेस सांसदको गुनासो– सरकारले हामीलाई टेर्नै छाड्यो

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक ल्याउन नहुने बताए ।
उनले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे ।
उनले भने–‘नेपालमा के आधारमा अन्तःशुल्क कर, सबैले बुझेकै छौँ । सिमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिष्थापन विधेयक आएको छ । त्योमार्फत बन्द भएका स्टिल उद्योगहरुले यहाँ निवेदन दिइसकेका छन् । यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ । निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ । हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन । औचित्य हुँदैन ।’
बिहीवार समितिमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स बीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०,३ महिना ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भएको हो ।








