राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये ३ वटा सम्पन्न भइसके : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये ३ वटा सम्पन्न भइसकेका बताएका हुन् । उनले ४ वटाको प्रगति ८० प्रतिशत माथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र ६ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए ।

त्यस्तै ५ वटाको प्रगति १० प्रतिशत मुनी रहेको उनले बताए । प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए । त्यस्तै विद्युत् प्रसारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडी बढेको उनको भनाई छ । उनले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताए ।

सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले हुलाकी राजमार्गका बाँकी पुलहरूको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आ।व।को बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताए । उनले जयनगर–जकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको बताए ।

त्यस्तै काठमाडौं–तराई÷मधेस द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उनले बताए । प्रधानमन्त्री दाहालले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताए । उनले आयोजनाको हेडवक्र्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनः निर्माण गरिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *