लिङदेनको आरोप– अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्याे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरूलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय राजनीतिक दलहरूलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए । उनले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिएपनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गरे ।

उनले भने ‘टेरामक्स भन्ने एउटा प्रविधि हो । कतिलाई त थाहा पनि छैन । अलि सस्तोमा आउनुपर्ने चिज अलि बढीमा तोकेर ल्यायो वा राम्रो ल्याउनुपर्ने कमसल ल्यायो होला, त्यसलाई त तुरुन्तै कारबाही गर्नुपर्यो । त्यो प्रविधि त चाहियो नि । टेरामक्स भित्र्याउन क्रममा भएको भ्रष्टाचारको कुरा मात्रै होइन नि । त्यो प्रविधि नभएको कारणले झन्डै एक खर्ब राजश्व हिनामिना भएको भन्ने अनुमान छ । गुणस्तरीय सेवा हामीले पाएका छौँ की छैनौँ भन्ने थाहा छैन । एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनीहरूको आम्दानी घटेको देखाइएको छ, तर खासमा घटेको हो की होइन, भन्नेकुरा नाप्ने र हेर्ने कुनै निकाय छैन । हामीले त कारबाही गर्नेलाई गर्ने र अर्को प्रविधि भित्र्याउने बाटो खोल्नुपर्ने हो । त्यस्तो कुराहरूमा अख्तियारको ध्यान पुग्न सकेको छैन । अहिले मानिसहरूको उजुरी गर्ने, भ्रष्टाचार भयो, अन्याय भयो भन्ने ठाउँ अख्तियार, तर अख्तियार पछिल्लो दिनमा गएर राजनीतिक क्षेत्रलाई चोख्याउने कर्मचारीलाई थुनेर अहिले बल्ल सचिवसम्म पुगेर त्यो पनि कर्मचारीलाई तह लगाउनसक्नेसम्म देखिएको छ । यसले ४४ बुँदे, निर्देशन मात्रै होइन, अब काम गर्दा कर्मचारी परिन्छ, नेता पर्ने होइन, आदेश दिने नेता, नेता उम्किने, र कर्मचारी थुनिने भएपछि हामीले कर्मचारीफाइल किन पठाउने ? भन्ने छ । झनै ठूलो नोक्सानी र काममा ढिलासुस्ती भएको छ ।’

उनले दोषीलाई कानुनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *