निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार हो, पद्धति नसुधारे संविधान खतरामा : पूर्वसभामुख ढुंगाना

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरूको संसद बनेको बताएका छन् ।

मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोरहरूको बनेको बताएका हुन् ।

उनले संसद ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि बताए । उनले सबै भ्रष्टाचारीहरूलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए । पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका उनले बताए ।

उनले भने ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो । यो पार्टी, उ पार्टीको कुरा होइन । एउटा मान्छे सबै जवानी खर्च गरेर एउटा क्षेत्र बनाउँछ भोलि म सांसद हुँला भनेर । पार्टीलाई पनि थाहा छ, यो पपुलर छ, जनसेवी छ । यसले जित्छ भनेको छ । खुत्रुक्क कुन नेताको खल्तीमा कुन पैसा पर्छ, करोडौँ पर्छ । त्यसले टिकट पाउँछ । दलमा भ्रष्टाचार टिकट बेच्नमा सुरु भइसकेको छ । यो रोक्न सक्छौँ हामी ? ०८४ को संसद कस्तो होला कल्पना गर्नुस् त ? खालि ठेकेदार, फटाहा र स्पोन्सरहरुको र अहिले सुन चोरीहरूको संसद बन्न गइरहेको छ । त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन ? सरकार र प्रधानमन्त्रीको ? जम्मै भ्रष्टाचारीहरूको सांसद बनाउन गइरहेका छौँ । अब पनि निर्वाचन पद्धतिमा सुधार नगर्ने हो भने । त्यसकारण यो संविधान खतरामा परिराखेको छ । हामीले एकातिर डेलिभर गर्न सकेनौँ ।’

उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताए । उनले मास आन्दोलनका कारण ०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिए । उनले सरकारका मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताए । उनले सरकारले अप्ठ्यारो फुकाउन सक्नुपर्ने बताए ।

उनले भने ‘संविधान लागू भएको ८ वर्ष भएको छैन, यसका सबै आधारभूत चरित्रमाथि प्रश्न उठिराखेको छ । जनता सडकमा आइरहेका छन् । अहिलेको संसद, सरकार वा दलहरूले यसको सामना गर्न, मुकाविला गर्न सक्दैन भनेको होइन । तर संवाद सुरु गर्ने कि नगर्ने ? निषेध नै ग¥यो भने कहाँ पुर्याउँछ ? हामीले अर्को पक्ष कमजोर पनि भन्नु हुँदैन । किनभने हामी पनि त मास आन्दोलन गरेर आएका हौँ नि । उसले मास आन्दोलन गर्नसक्यौँ भने ०४७ सालको संविधान उल्टिन्छ भने ०७२ सालको संविधान उल्टिँदैन ? कसैले ग्यारेन्टी गर्नसक्छ ? सरकारका मन्त्रीहरू भ्रष्टाचारमा भएर अख्तियार जानुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री न संशोधन गर्न सक्नुहुन्छ । न हटाउन सक्नुहुन्छ । न बदल्न सक्नुहुन्छ । न थप्न सक्नुहुन्छ । यस्तो सकसको सरकार चलिरहेको छ । सरकारमा बस्नुमात्रै ठुलो कुरा होइन नि । सकस, अपmअप्ठ्यारो त फुकाउन सक्नुपर्यो नि ।’

पूर्वसभामुख ढुंगानाले सबै विरोधीहरू गणतन्त्र विरोधी नभएको पनि बताए । उनले सबै विरोधीहरूलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरूलाई अराष्ट्रिय भनेजस्तै हुने बताए । उनले सबभन्दा पहिले जनताहरूले विरोध गर्ने परिस्थितिलाई रोक्नुपर्ने बताए । उनले संविधान कार्यान्वयन गर्न सरकारलाई परेको बाधाको बारेमा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।

उनले भने ‘संविधानको आधारभूत चरित्रमाथि जब विरोध हुन थाल्छ नि । जनताहरू सडकमा उत्रिन्छन्, मासहरू आउँछन् नि । त्यो कसले गर्यो ? कुन अनुहारको ? कुन तत्व भन्नु हुँदैन । त्यो सबभन्दा ठूलो घातक कुरो हुन्छ । जनमत त्यसको विरुद्ध दिनुहुँदैन । एकचोटी प्रधानमन्त्रीलाई पनि भेटेर भनेको थिएँ, सबै विरोधीहरू गणतन्त्र विरोधी होइनन् । परिवर्तनका विरोधीहरू होइनन् । गणतन्त्र, गणतन्त्रजस्तो नभएको भएर विरोध भएको हो । सबै विरोधीलाई गणतन्त्र विरोधी भनिदिने हो भने त उहीँ राजा महेन्द्रले हामीलाई अराष्ट्रिय भनेजस्तो हो । हामी अराष्ट्रिय हौँ ? किशोरावस्थादेखि प्रजातन्त्रका लागि सङ्घर्ष गरेका छौँ । अनि हामी अराष्ट्रिय, राजा राष्ट्रिय ? त्यसैले हामी सबै गणतन्त्र विरोधी होइनौँ । सबभन्दा पहिले यो विरोध गर्ने परिस्थिति रोक्नुप¥यो । संवाद गर्नुपर्यो । समाजवाद त सबैले भन्छन् । तर सत्ता पाउँदापनि जादु गर्नुपर्छ प्रधानमन्त्रीले म भन्दिनँ । तर त्यो बाधा उहाँले भन्दिएको भए हामीलाई पनि सजिलो हुन्थ्यो । त्यो समाजवाद कार्यान्वयन गर्नलाई अथवा संविधान कार्यान्वयन गर्नलाई अहिलेको सरकार, अहिलेको प्रधानमन्त्रीको पार्टी अथवा अहिलेको गठबन्धनलाई के बाधा परिराखेको छ ? जनताले खोजेको कुरा त्यही हो । जस्तोः प्रधानमन्त्रीको पनि आफ्ना बाधाहरू होलान् । कार्यान्वयनमा के बाधा छन् त प्रधानमन्त्रीलाई ? तपाईँहरूबाट अपेक्षा गरेको कुरा त्यही हो ।’

पूर्वसभामुख ढुंगानाले संविधानको सुधार तथा परिमार्जन गरेर मुलुकलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए । उनले संविधान संशोधन नगरेमा मुलुक अस्थिरतामा जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *