तालाबन्दीले रोकेन मध्यपश्चिम विश्वविद्यालयको पूर्वाधार र प्राज्ञिक प्रगति

सुर्खेत । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ ।

कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक पूर्वाधार विकास, शैक्षिक–प्राज्ञिक उन्नयन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास, व्यवस्थापकीय चुस्तता आदि विषयमा छोटो समयमा प्रगति गरेको पाइएको छ ।

सात सङ्काय, ५० कार्यक्रम, २० प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी र १३ हजार विद्यार्थी रहेको १३ वर्षे सो विश्वविद्यालयमा पछिल्लो समयमा कृषि विषयको स्नातक पढाइ हुन थालेपछि विद्यार्थी पढ्दै कमाउँदै अभियानमा जोडिएका छन् ।

हर्बल उद्योगबाट साबुन, तेललगायत सामान उत्पादन हुन थालेको छ । विश्वविद्यालयले पुँजीगत खर्च शतप्रतिशत गर्न थालेको छ भने पाँच वर्ष अगाडि ४० करोड ५९ लाखमा रहेको बेरुजु हाल तीन करोडमा झारेको छ ।

पाँच वर्षअघि साढे सात हजार विद्यार्थी रहेकोमा अहिले १३ हजार पुगेका छन् । विश्वविद्यालयको हालको वार्षिक बजेट एक अर्ब २० करोड छ । विश्वविद्यालयले कृषि उद्यमशीलतामा विश्वविद्यालय अनुदान आयोगबाट २७ लाखको बजेट प्राप्त गरेको छ भने नौ सय सटरबाट वार्षिक २५ करोड आम्दानी गराउने योजना कार्यान्वयनमा ल्याएको छ ।

पाठ्यक्रममा ७० प्रतिशत विश्वस्तर, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिता अपनाइएको छ ।

विश्वविद्यालयले कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब, एमयु होटेल, हर्बल प्रोसेसिङ युनिट स्थापना गरेको छ भने अनुसन्धान तथा विकास केन्द्र, केन्द्रीय पुस्तकालय, परीक्षा व्यवस्थापन कार्यालय भवन बनाउन सुरु गरेको छ ।

यस्तै जैविक तथा जलवायु परिवर्तन प्रयोगशाला, नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थापनाजस्ता नवीन कार्यसञ्चालन विश्वविद्यालयको नेतृत्वले गरेको छ । यसबिचमा विभिन्न ३५ विश्वविद्यालय र संस्थासँग सम्झौता भएको छ ।

बिडम्बना, विश्वविद्यालय सम्बन्धन, दरबन्दी र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न माग राखेर गत असोज १२ गतेदेखि केही प्राध्यापक र विद्यार्थी सङ्गठनबाट पदाधिकारी र विभागीय प्रमुखका कार्यालयमा भएको तालाबन्दी उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल सकिएर बिदाइ लिने समयसम्म पनि खुल्ने स्थिति छैन ।

उपकुलपति डा सिंहको कार्यकाल यही फागुन १७ गते सकिँदैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्यालयस्थित उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, ग्य्राजुएट स्कुलका डीन कार्यालय, निर्देशनालय, सेवा आयोगलगायतमा तालाबन्दी हुँदा दैनिक प्रशासन र सेवा प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक निकासा अवरुद्ध हुँदा प्राध्यापक एवं कर्मचारीका तलब–भत्तालगायत सम्पूर्ण खर्च निकासमा समस्या आएको छ । तालाबन्दी गर्ने पक्षले राखेका माग विश्वविद्यालयले पूरा गर्न नसक्ने खालका भएको विश्वविद्यालयका पदाधिकारीको भनाइ छ ।

उपकुलपति सिंहको कार्यकाल सकिने भएकाले उनको सम्मानजनक बिदाइका लागि ताला खोलेर सहयोग गर्न यही फागुन १४ गते रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले सार्वजनिक आह्वान गरे पनि त्यसको सुनुवाइ भएको देखिएन । यसबिचमा विभिन्न मुद्दा–मामिला पनि विश्वविद्यालयले खेप्दै आएको छ ।

यही फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट विश्वविद्यालयले गर्दै आएका सम्बन्धनलगायत कामको निरन्तरता हुन सहजता आएको छ । पाँच महिनादेखि विश्वविद्यालयमा ताला लगाउनेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, विश्वविद्यालयमा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठन छन् ।

विश्वविद्यालयले पटकपटक वार्ता र आह्वान गर्दै समस्याको समाधान गर्न पहल गरेको छ । उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ । तालाबन्दी गर्नेमध्येका प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सो विश्वविद्यालयका अध्यक्ष गीताराम ढकालले विश्वविद्यालयले बनाएको सम्बन्धनसम्बन्धी कार्यविधिको पालना नभइ आफूखुसी सम्बन्धन दिइएको, दरबन्दी स्वीकृत नगरी जनशक्ति नियुक्ति गरिएको र अन्य गलत कामको विरोधसहित आफूहरूले बाध्यतापूर्वक तालाबन्दी गरेको बताए ।

उपकुलपति प्रा डा सिंह भने आफूहरूले मापदण्ड र विधिभन्दा बाहिर कुनै काम नगरेको र विधि मिच्न र कथित भागवण्डाका आधारमा लाभ लिन नपाएका नपाएकाहरूले अनावश्यक विरोध गरेको जिकिर गरे । नेपाल प्रगतिशील प्राध्यापक सङ्घ, मध्यपश्चिम विश्वविद्यालकका अध्यक्ष रामप्रसाद कँडेलले भने, ‘अवरोधकाबीच पूर्वाधार र प्राज्ञिक विकासका साथै करिब ३० वटा नीति र कार्यविधि बन्नु तथा तालिम र अनुसन्धानात्मक काम हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।’

विश्वविद्यालयले पाँच सय रोपनी जग्गामा पाँच तारे होटेल सञ्चालन, कृषि र बायोग्यास उत्पादनआदिका माध्यमबाट रोजगारी सिर्जना गर्न थालेको छ । फूल उत्पादनको हरित घर पनि विश्वविद्यालयले बनाएको छ । कृषि विषष्मा अध्ययनरत विद्यार्थी सृष्टि गिरी पढाइसँगै स्वदेशमा रोजगारीको अवसर सिर्जना हुनु सुखद विषय भएको बताउछन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् प्रा केदारभक्त माथेमा र समाजशास्त्री प्रा चैतन्य मिश्रसहितको टोलीले हालै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, विभिन्न सङ्कायका साथै रामघाटस्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीको अवलोकन गरी पदाधिकारीलाई प्रोत्साहन दिएका थिए ।

शिक्षाविद् माथेमाले मध्यपश्चिम विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक प्रयासले आफू प्रभावित भएको बताए । माथेमाले विश्वविद्यालय र शिक्षा प्रणालीमा दलीय राजनीति हुन नहुने बताउँदै विश्वविद्यालय सञ्चालन गर्न नेतृत्वमा सोच र त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपर्ने जनाए ।

प्रा मिश्रले उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले गरेको प्रयास र सुधारका कार्य सह्राहनीय रहेको बताउँदै विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टको व्यवस्था भएमा स्वामित्व र समर्पणभाव सिर्जना हुने विचार राखे ।

सो विश्वविद्यालयमा गत माघ ५ गते पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले भ्रमण गरी कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब तथा डिजिटल भवनको उद्घाटन गरेका थिए ।

गत माघ १५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ग्य्राजुएट स्कुल अफ एजुकेशनको प्रशासनिक भवनको उद्घाटन गरेका थिए भने गत पुस ६ गते शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले भ्रमण गरी शिक्षक प्राध्यापकसँग अन्तरक्रिया गरेकि थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *