सीमा क्षेत्रका स्थानीयको गुनासो- भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्यो

काठमाडौँ । पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोबास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् ।

स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुख समक्ष आफ्ना गुनासा राख्ने क्रममा सीमाका नेपालीहरूले एसएसबीको ज्यादती बारेको जानकारी गराए ।

सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमि तर्फका बासिन्दाको भोगाई छ । उनीहरुले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकाय समक्ष दुखेसो पोखेका छन् ।

स्वयं हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समेतले एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्ने बेला आएको धारणा राखे । एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दुःख दिने जस्ता काम गर्दै आएको अन्सारीले बताए ।

सीमामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुला रुपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य अन्यौल बनाउने जस्ता कार्य गरिरहेको आरोप समेत लगाए । उनले एसएसबीले चोरी तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सघाउ नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन ढिला गर्न नहुने धारणा राखे ।

स्थानीय अताबुल अन्सारी समेतले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभई भारतकै हो की भन्ने आभास हुन थालेको बताए । उनले नेपाल सरकारले सो विषयमा ठोस कदम चाल्नुपर्ने बताए ।

कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजी समेतको उपस्थितिका बीच भारतीय सीमा सुरक्षा बल एसएसबीको कार्य शैलीको आलोचना गरेका स्थानीयले काउण्टर पार्टको बैठकमा सो विषय उठान गर्न माग समेत गरेका छन् ।

सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ । यद्यपि सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुद चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाई छ ।

सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताए ।

प्रजिअ आचार्यले पैदल यात्राको उद्देश्य सीमावासी सँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधनकालागि भएको बताए । यात्राको क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थिति बारेको प्रत्यक्ष जानकारी प्राप्त हुने प्रमुख जिल्ला अधिकारीले बताए ।

प्रजिअ आचार्यले एसएसबी बारेको नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्ने जस्ता विषयसहित स्थानीयले उठाएका मुद्दा दुई देशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *