मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ : गृहमन्त्री (भिडिओ)

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरुलाई न्याय दिने काम भइरहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको बताएका हुन् ।

उनले तत्कालिन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए ।

उनले प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ । त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए ।

उनले पीडितलाई हर हालतमा न्याय दिने बताए ।

उनले भने – ‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानून छ । बाँकी रहेका सबै उजुरीहरूलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ । जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ । पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ । त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ । यो प्रक्रियामा हामी छौँ । त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ । म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितको नाममा खेल खेल्ने काम नगरौँ ।’

उनले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताए । उनले पीडितको नाममा खेल नखेल्न आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =