सांसदहरुको एक स्वर– दोषी मन्त्रीहरु राजीनामा दिनुस्

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाजि अझै कारबाही नगरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

उनले सो घटनामा दोषी करारहरुमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिए ।

यता, सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबैभन्दा ठूलो भष्टाचार काण्डको रुपमा रहेको एनसेल छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिए ।

उनले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुध किसानहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।

अर्का सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापाले पनि दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले विकास आयोजनाहरुका लागि भुक्तानी रोक्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।

सांसदहरुले जनताको पैसा हिनामिना गर्ने सहकारीमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

काँग्रेस सांसद अम्बिका बस्नेतले सहकारी पीडितहरुलाई न्याय दिन पनि दोषी सहकारीमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराइन् ।

उनले मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गरिन् ।

सांसद बस्नेतले दुध किसानहरुको भुक्तानी दिने काममा सरकारले ढिलाई गर्न नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =